१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


धादिङमा पहिरोले स्थानीय विस्थापित, नुवाकोटमा पाँच गाविससँग यातायात सम्पर्कविच्छेद


0
Shares

धादिङ, नुवाकोट, गोरखा, असार १६ । धादिङको रि गाविस–९ चेप्राङमा वर्षासँगै आएको पहिरोका कारण ६ घरका १९ जना विस्थापित भएका छन् ।

भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका उनीहरु पहिरो गएपछि बुधबार राति ११ बजे भागेर नजिकैको सुरक्षित स्थानमा बसेका छन् ।

घटनाका बारेमा स्थानीयले सुरक्षाकर्मीलाई जानकारी दिएपनि मोटर चल्न बाटो नभएकाले घटनास्थलमा सुरक्षाकर्मी पुग्न सकेका छैनन् ।

घटनाको विस्तृत् विवरणसमेत आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यातायात सम्पर्कविच्छेद
नुवाकोटको तुप्चे गाविसस्थित सलाखु खोलामा आएको बाढीले पक्की पुल भत्काएपछि पाँच गाविससँग यातायात सम्पर्कविच्छेद भएको छ ।

सलाखु खोलाको बाढीले बहाव परिवर्तन गर्दा सात वर्षअघि निर्माण भएको पुल भत्किएको हो ।

जिल्लाका मनकामना, फिकुरी, काहुले, भाल्चे र साल्मे गाउँ विकास समितिका नागरिकहरुको जनजीवन कस्टकर बन्न थालेको छ ।

पुल भत्किएपछि खाद्य सामाग्री ढुवानी गर्न र गाउँमा उत्पादित सामाग्री बजारमा पुर्‍याउन नसकिएको स्थानीयले बताएका छन् ।

भूकम्पपीडितले गाउँ छाडे
गाउँमाथिको डाँडाबाट निरन्तर पहिरो झरेपछि उत्तरी गोरखाको केरौंजा–१ का १ सय १३ ओटा टहरोमा बसोबास गर्दै आएका भूकम्पपीडितले गाउँ छाडेका छन् ।

गाउँमाथिको रानीवनबाट खसेको पहिरोले टहरोमा क्षति पुर्‍याएपछि गाउँलेले टहरा छाडेर स्थानीय जंगलको खालीचौरमा बस्दै आएका छन् ।

गत वर्ष असार ११ र भदौ ५ मा गएको पहिरोले केरौंजा–४ को पूरै बस्ती बगाएको थियो ।

गाउँबाट विस्थापित भएका १ सय ३७ घरधुरीका गाउँले वडा नम्बर–१ को जग्गामा टहरो बनाएर बस्दै आएका थिए ।