
काठमाडौं, असार १६ । काठमाडौं उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रोरेलको विस्तृत् परियोजना प्रस्ताव तयार गरिने भएको छ ।
मन्त्रिपरिषदले गत फागुन १७ गते उपत्यकामा मोनो(एक लेन) र मेट्रो(दुई लेन)रेलको विस्तृत् सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो ।
बोर्डले कसरी काम अघि बढाउने भन्ने विषयमा प्रारम्भिक छलफल गरी विस्तृत् परियोजना प्रस्ताव निर्माणको काम सुरु गरेको छ ।
आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा उपत्यकामा मोनो रेलसम्बन्धी सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएअनुसार काम अघि बढाइएको बोर्डका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले राससलाई जानकारी दिए ।
‘लगानी बोर्ड ऐनमा मोनो र मेट्रोरेल निर्माणको विषय उल्लेख नभएकाले मन्त्रिपरिषद बैठकले निर्णय गरी काम गर्न तोकेको हो, यसअघि बोर्डको वि.सं. २०७२ माघ १० को निर्णयअनुसार यो विषय मन्त्रिपरिषदमा पुगेको थियो’–उनले भने ।
यसअघि, वि.सं. २०६८ मा रेल विभागले कोरियाली कम्पनीमार्फत् उपत्यकामा विद्युतीय मेट्रोरेलसम्बन्धी सम्भाव्यता अध्ययन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो ।
मन्त्रालयबाट मन्त्रिपरिषद हुँदै लगानी बोर्डमा पुगेको प्रतिवेदनका आधारमा दुई वर्षअघि नेपाल मेट्रो प्रालिले विस्तृत् परियोजना विवरण निर्माणको इच्छा देखाएको थियो ।
सरकारको वित्तीय दायित्व नपर्ने गरी परियोजना विवरण निर्माणका लागि बोर्डले अनुमति दिएपछि कम्पनीले आफ्नै लगानीमा काम गर्ने हो भने निर्माण पनि गर्न पाउनुपर्ने माग गरेको थियो ।
बोर्डले निर्माणका लागि पहिले नै अनुमति दिन नसकिने भनेपछि कम्पनी बाहिरिएको थियो । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्