२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि लम्की तनावग्रस्त


0
Shares

कैलाली । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि स्थिती तनावग्रस्त बनेको छ ।

युवतीको मृत्युपछि आक्रोशित भएका स्थानीयले दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतीपूर्ती माग गर्दै राजमार्ग अवरुद्ध पारेपछि स्थिती तनावग्रस्त भएको हो ।

प्रर्दशन उग्र भएर स्थानीयले प्रहरीमाथि नै ढुङ्गा हानेपछि भीड नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले प्रर्दशन उग्र भएपछि भीड नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरिएको जानकारी दिए ।

प्रर्दशनका क्रममा स्थानीयले हानेको ढुङ्गा लागेर केही सुरक्षाकर्मी घाईते भएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए ।

उनका अनुसार स्थिती तनावग्रस्त भएपछि लम्कीमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीयले अहिले पनि प्रर्दशन जारी राखेका छन् । राजमार्ग अवरुद्ध भएपछि यातायातका साधन लम्कीमै रोकिएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिंदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनिता रावलको मंगलबार मृत्यु भएको हो ।

कलेजबाट पढाई सकेर घर फर्कदै गरेको अवस्थामा उनलाई ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन् ।