१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


जर्सी र टेलिभिजनको व्यापार बढ्यो (भिडियो)


0
Shares

नारायणी लामिछाने/कबिर महर्जन (इमेज)

काठमाडौं, जेठ २९ । विश्वकप फुटबल नजिकिँदै गर्दा नेपाली बजारमा भने टेलिभिजन र जर्सीको व्यापार बढेको छ ।

विभिन्न देशका ‘फ्यान’हरुले जर्सी किन्नेक्रम बढिरहेको छ भने विश्वकप हेर्नका लागि ठूलो स्क्रीनका टीभीको माग पनि बढेको व्यापारीहरुले बताएका छन् ।

आगामी बिहीबारदेखि रुसमा फुटबलको महासंग्राम विश्वकप सुरु हुँदैछ । विश्वकपको ज्वरो नेपालमा पनि ह्वात्तै बढेको छ ।

प्रतियोगिता सुरु हुने दिन नजिकिँदै गर्दा विभिन्न टिमका फ्यानहरुमा जर्सी किन्ने होड पनि चलेको छ । नेपाली बजारमा लगभग सबै देशका फुटबल टिमका जर्सी उपलब्ध छन् ।

आफूलाई मन पर्ने टिम र देशका जर्सी लगाउने मानिस पनि त्यत्तिकै देखिन्छन् ।

अहिले बजारमा सबैभन्दा बढी अर्जेन्टिना, जर्मनी, ब्राजिललगायतका देशका फुटबल टिमका जर्सीको व्यापार बढी देखिएको छ । जर्सीको बिक्री दोब्बरले बढेको व्यापारी रमेश रुपाखेती बताउँछन् ।

अर्का व्यापारी जनक न्यौपाने दिनमा २०० ओटासम्म जर्सी बिक्री हुने गरेको बताउँछन् ।

जर्सीमात्रै होइन, विश्वकप फुटबलले टेलिभिजनको व्यापार पनि बढाएको छ । यही मौका पारेर टीभी कम्पनीहरुले मूल्यमा छुट दिएकाले टीभीको बिक्री पनि बढेको हो ।

चार वर्षमा एकपटक हुने प्रतियोगिता हेरिछाड्ने र सकेसम्म ठूलो स्क्रीनमा हेर्ने इच्छाका कारण पनि टीभीको व्यापार बढेको व्यापारीहरु बताउँछन् ।

भिडियो हेर्नुहोस्