
काठमाडौं, असार १८ । अविरल वर्षासँगै महाकाली नदीमा बढेको पानीको बहाव उस्तै रहेको छ । आज पश्चिमको महाकालीसहित बबई, कर्णाली र पश्चिम राप्तीमा पनि पानीको बहाव बढ्ने अनुमान गरिएको छ ।
दार्चुला, बैतडी, कन्चनपुर, कैलाली र बर्दिया आसपासमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसम विज्ञान विभागले जनाएको छ ।
अविरल वर्षाले महाकाली नदीमा पानीको बहाव उच्च छ भने पुलमा चार पाङ्ग्रे सवारी सााधनको आवागमन बन्द गरिएको छ । महाकाली नदीमा शुक्रबार पानीको बहाब २ लाख ७४ हजार क्युसेकसम्म पुगेको थियो ।
१ लाख क्युसेक पानी पुगेपछि खतरा मानिन्छ । महाकाली तटीय क्षेत्र आसपासका बस्तिमा बाढी पस्ने सम्भावना भएकाले त्यहाँका वासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको प्रहरीले जनाएको छ । जिल्लाका दोदा, मनहरा, स्यालीलगायतका नदीमा पनि पानीको सतह बढेको छ ।
लगातारको पानीले नारायणी नदीमा पानीको बहाव उच्च भएको छ । बाढी पूर्व सूचना विज्ञ विनोद पराजुलीका अनुसार स्याङ्जाको बोर्लाङपुल, कास्कीको पन्चासे र ठोरीमा पानीको बहाव बढेको हो । बाढीले जलमग्न भएको चितवनको माडी क्षेत्र भने क्रमशः सामान्य हुँदै गएको छ ।
उता, सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये १९ वटा ढोका खोलिएका छन् ।
प्रतिक्रिया दिनुहोस्