
काठमाडौं, असार १८ । बंगलादेशको राजधानी ढाकामा इस्लामिक अतिवादी समूह ‘आइएस’ले शनिबार आक्रमण गरेको छ ।
सहरको गुलसन क्षेत्रस्थित होले आर्टिसन बेकरी क्याफेमा आक्रमण गरी आइएसले विदेशीसहित कम्तिमा २० जना बन्धक बनाएको थियो ।
बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले सुरक्षाकर्मीले क्याफे खाली गरी चारजना विदेशीसहित १३ जना बन्धकमुक्त गरेको र यसक्रममा ६ जना आक्रमणकारी मारिएको जानकारी दिइन् ।
कम्तिमा दुईजना प्रहरी अधिकृत मारिएका छन् भने अरु ३० जना घाइते भएका छन् । बन्धक बनाइएकाहरुमा इटालियन र जापानी नागरिक रहेको बताइएको छ ।
बन्धकलाई सुरक्षित निकाल्ने प्रयासस्वरुप बंगलादेशी विशेष प्रहरी फोर्स क्याफेभित्र प्रवेश गरेको थियो ।
कुटनीतिक प्रतिनिधि रहने क्षेत्रमा रहेको क्याफेमा ८/९ जना सशस्त्र हतियारधारीले आक्रमण गरेका थिए । आइएसले आक्रमणको जिम्मेवारी लिएको छ ।
बंगलादेशमा विदेशीहरुलाई बन्धक बनाइएको सम्भवतः यो पहिलो घटना हो ।
बंगलादेशमा पछिल्लो समय धर्मनिरपेक्ष ब्लगर, समलिंगी अभियानकर्ता, धार्मिक अल्पसंख्यक सदस्यको हत्या आइएसले गरेको विश्वास गरिन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्