Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


सयौं मानिसहरु सोध्छन् : आज सुतौं कि नसुतौं ?


0
Shares

काठमाडौं, असार १९ । सर्वसाधारणलाई बाढीको जानकारी दिन जल तथा मौसम विज्ञान विभागले सुरु गरेको टोल फ्री नम्बर प्रभावकारी बनेको छ ।

नदी तटीय क्षेत्र र समथर भाग तराई क्षेत्रका सर्वसाधारणलाई बाढीबाट बच्न पहिल्यै सूचना प्रवाह गर्ने उद्देश्यले विभागले गत बर्षको मनसुनदेखि ११५५ नम्बरको टोल फ्री नम्बरको सेवा सुरु गरेको थियो ।

मनसुन सुरु भएदेखि नै उक्त नम्बरमा फोन गरेर बाढी र बर्षाको जानकारी लिनेको संख्या बढीरहेको विभागअन्तर्गतको ‘बाढी भविष्यबाणी शाखा’का हाइड्रोलोजिस्ट तथा बाढी भविष्यवाणीविज्ञ विनोद पराजुलीले बताए ।

‘सर्वसाधारणले राति १–२ बजेसम्म पनि फोन गरेर हामी सुतौं कि नसुतौं भनेर सोध्छन्’ पराजुलीले भने,‘हामीले मौसमी अवस्थाबारे स्पष्ट पारेपछि मात्र उनीहरु ढुक्क भएर फोन राख्छन् ।’

विहीबारदेखि धेरै भागमा निरन्तर भारी बर्षा हुन थालेपछि झन् बारम्बार फोन आइरहेको छ । ‘केही दिनयता धेरैजसो समय टेलिफोनमा सूचना दिदैंमा वित्ने गरेको छ’, पराजुलीले भने ।

बर्दियाको राजापुर, कर्णाली, कोसी, चतरा, नारायणी, बबई, पश्चिम राप्ती, पूर्वी राप्ती तथा महाकाली आसपास बस्ने सर्वसाधारण र तराईका जिल्लाबाट बढी फोन आउने गरेको पराजुलीले बताए । यो सेवा मनसुन अवधीभर रहने छ ।
-अब्दुल्लाह मियाँ, कान्तिपुर दैनिकबाट