
काठमाडौं, असार १९ । सांसदहरुले ललितपुरको गोदावरीमा दुईजना विद्यार्थीको ज्यान जाने गरी भएको घटनाका पीडितलाई क्षतिपूर्ति दिन र दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।
आइतबार व्यवस्थापिका संसदको बैठकमा सांसदहरुले जग्गा प्लटिङ गर्नेहरुको लापरवाहीका कारण पर्खाल भत्किएर निर्दोष विद्यार्थीहरुको ज्यान गएकोले त्यसको छानविन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा कांग्रेस सांसद उदयशम्शेर राणाले घटनाको छानविनका लागि समिति गठन गर्न माग गरे ।
नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङले मृतकका परिवारलाई क्षतिपुर्ति र घाइतेको निःशुल्क उपचार गर्नुपर्ने बताए ।
नेकपा एमालेकी सांसद सुशीला नेपालले घटनाको कारण पत्ता लगाएर दोषीमाथि कारवाही गर्न माग गरे ।
नेकपा मालेका अइन्द्र सुन्दर नेम्वाङले प्लटिङ व्यवसायीहरुको लापरबाही रोक्नुपर्ने र दोषीहरुलाई कारवाही गर्नुपर्ने बताए ।
एमाले सांसद गणेश ठगुन्नाले बाढीका कारण दार्चुलामा जनजीवन निकै कष्टकर बनेको भन्दै पीडितहरुको उद्धार र राहतमा ध्यान दिन तथा राहत र पुनर्स्थापना गर्न माग गरे । उनले सम्भावित जोखिमलाई न्युनिकरण गर्नका लागि आवश्यक सबै उपाय अबलम्बन गर्न सुझाव दिए ।
संसदको आजको बैठकले पूर्व सांसद मंगलसिद्धि मानन्धरको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्