२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


ओली सरकारको विकल्प खोज्दै माओवादी


0
Shares

काठमाडौं, असार २० । आफैं सामेल सरकारलाई टिकाउन नौ बुँदे सहमति गरेको दुई महिनापछि नै माओवादी केन्द्र सरकारको विकल्प खोजीमा जुटेको छ । सरकारबाट कसरी बाहिरिने र कोसँग साझेदारी गर्ने भन्नेमा नेताहरुले कसरत थालेका छन् ।

केन्द्रका अधिकांश नेता (हेडक्वार्टर र पोलिटब्युरो तहका) वैशाख २३ गते एमाले नेतृत्वको सरकारसँग भएको नौ बुँदे सहमति कार्यान्वयन नभएको बहानामा ओली सरकारको विकल्प खोज्न ‘सक्दो प्रयास’ मा रहेको स्रोतले जनाएको छ ।

‘नौ बुँदे सहमति भएदेखि बजेट पेस गर्दासम्म सरकारकातर्फबाट धेरै काम गर्ने भनिएको थियो,’ सरकार परिवर्तन गर्न विभिन्न दलका नेतासँग संवाद गरिरहेका केन्द्रका हेडक्वार्टर सदस्यले भने, ‘जति प्रयास गर्दा पनि प्रधानमन्त्री ओलीले अटेर गरेपछि धेरै नेता– कार्यकर्ताको चाहना वर्तमान सरकारको विकल्प खोज्नुपर्छ भन्ने छ ।’

नौ बुँदे सम्झौता कार्यान्वयन होला भन्ने आशा गरिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो मंसिरसम्म सरकार नछाड्ने बताउन थालेपछि आत्तिनु परेको ती नेताले बताए ।

स्रोतका अनुसार वर्तमान सरकारको विकल्प खोज्नुपर्छ भन्नेमा २३ सदस्यीय माओवादी हेडक्वार्टर एकढिक्का जस्तै छ । –नागरिक दैनिकबाट