१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


नेपाल–भारतको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रक्रिया सुरु भयो : मन्त्री थापा


0
Shares

काठमाडौं, असार २० । नेपाल–भारत प्रबुद्ध समूह, इमिनेन्ट पर्सन्स ग्रुपको पहिलो बैठक आजबाट काठमाडौंमा सुरु भएको छ ।

बैठकको उद्घाटन गर्दै परराष्ट्रमन्त्री कमल थापाले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रक्रिया सुरु भएको बताए ।

उनले अहिलेको समयको आवश्यक्तालाई सम्बोधन गर्न सन् १९५० को सन्धीलगायत दुई देशबीचका विभिन्न सम्झौता तथा सहमतिहरुमा परिमार्जन आवश्यक भएको बताए ।

कार्यक्रममा प्रबुद्ध समूह भारतका संयोजक भगतसिंह कोसियारीले अहिलेको आवश्यक्ता विशेष सम्बन्ध भएको दुई देश कसरी असल छिमेकीको रुपमा बस्न सकिन्छ भन्ने हो र त्यसैमा बैठकले आफ्नो ध्यान केन्द्रित गर्ने बताए ।

नेपालका संयोजक डा. भेष बहादुर थापाले पुरानो सम्बन्धमा घोत्लिनुभन्दा समयानुसार आपसी समन्धलाई मजबुत बनाएर लानुपर्नेमा जोड दिए ।

सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायतका द्विपक्षीय सन्धि–सम्झौता पुनरावलोकन, अद्यावधिक र आवश्यक परे खारेजसम्म गर्न दुबै देशका सरकारलाई सुझाव दिन दुबै देशका तर्फबाट यो समूह गठन गरिएको हो ।

यस समूहमा नेपालका तर्फबाट पूर्व मन्त्री नीलाम्बर आचार्य, पूर्व राजदूत डा. भेषबहादुर थापा, पूर्व सचिव सूर्यनाथ उपाध्याय, सांसद राजन भट्टराई सदस्य रहेका छन् ।

भारतका तर्फबाट भने भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र लामा र डा. भुवन उप्रेती रहेका छन् ।