
काठमाडौं, असार २० । व्यवस्थापिका–संसदको सोमबार बसेको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समय र विशेष समय लिएर बोल्ने सांसदहरुले विकास–निर्माणमा भएको ढिलासुस्ती र बाढी–पहिरोले देशव्यापीरुपमा पारेको प्रभाबबारे गम्भीर हुन सरकारलाई सुझाव दिएका हुन् ।
कांग्रेस सांसद अनिता देवकोटाले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको आरोप लगाउँदै ‘गमलामा धान रोप्ने मन्त्रीलाई रासयनिक मलको अभावबारे जानकारी नहुनु स्वभाविक’ भएको बताइन् ।
यस्तै, एमाले सांसद जमिन्द्रमान घलेले भूकम्पपछि लमजुङका केही बस्ती खतरामा परेको भन्दै सो बस्तीको स्थान्तरणका लागि पहल गर्न माग गरे ।
नेकपा माओवादी केन्द्रका सांसद लालबहादुर गुरुङले बाढी–पहिरोले देशव्यापीरुपमा उत्पन्न गरेको समस्याप्रति सरकार गम्भीर हुन जरुरी रहेको बताए ।
यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद डिल्ली काफ्लेले कर्णाली राजमार्गमा काम गर्ने ठेकेदारहरु भागेकाले उनीहरुलाई समातेर कारबाही गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस्