
काठमाडौं, असार २० । एक हप्ताअघिदेखि बिग्रेको विद्युतीय शवदाह गृह बुधबारसम्म सन्चालनमा आउने भएको छ ।
असार १३ गते सोमबारको अविरल वर्षाले चाबहिल, गौशालाको ढल विद्युतीय शवदाह यन्त्रको पम्पमा जमेपछि यन्त्र बन्द भएको थियो ।
पम्पमा जमेको ढल निकाल्न सोमबार खानेपानी तथा ढल निकास विभागबाट जेट मेसिन ल्याएर सफा गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डनले राससलाई जानकारी दिए ।
‘पम्प सफा गरेर सकेसम्म मंगलबार नसके बुधबार विद्युतीय शवदाह गृह सन्चालनमा ल्याइनेछ । यन्त्रमा समस्या छैन । अविरल वर्षासँगै आएको बाढी र ढलले पम्पमा आएको समस्या समाधानमा लागेका छौं’–उनले भने ।
वि.सं. २०७२ माघ १० गतेदेखि नेपालमै पहिलो शवदाह गृह सन्चालनमा आएको थियो ।
यन्त्र सन्चालनमा आएदेखि हालसम्म एक हजार ८०० शवदाह गरिएको कोषले जनाएको छ । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्