४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


वीरगन्जमा १८ करोडको लागतमा चल्ला उत्पादन फार्म, सातामै ४८ हजार चल्ला उत्पादन (भिडियोसहित)


0
Shares

अनिल तिवारी (इमेज)

वीरगन्ज, असार २० । वीरगन्जमा करिब १८ करोड रुपैयाँको लागतमा चल्ला उत्पादन फार्म सन्चालनमा ल्याइएको छ ।

जसले हप्तामा दुईपटक २४–२४ हजार गरी ४८ हजार कुखुराको चल्ला उत्पादन सुरु गरिसकेको छ ।

तर, नेपाल–भारत खुला सीमानाको फाइदा उठाउँदै भारतबाट भित्रने कुखुराको चल्लाले नेपालमा सन्चालित फार्म भने मारमा पर्ने गरेका छन् ।

वीरगन्जको अलौमा व्यवसायिक कुखुरापालन गर्ने उद्देश्यले चल्ला उत्पादन फार्म सन्चालनमा ल्याइएको हो ।

१८ करोडको लागतमा सन्चालनमा ल्याइएको फार्मले हप्तामा दुईपटक २४–२४ हजार गरी ४८ हजार कुखुराको चल्ला उत्पादन सुरु गरेको छ । अलौमा शिवम् इन्डष्ट्रिज प्रालीले सो फार्म सन्चालनमा ल्याएको हो ।

निकट भविष्यमै हप्ता दिनमा १ लाख ५० हजारसम्म चल्ला उत्पादन गर्ने लक्ष्यकासाथ फार्म अगाडि बढेको छ ।

आवश्यक मेसिन र उपकरणहरुसहितको आधुनिक प्रविधिको कुखुराफार्म जमिनदेखि १० फिटको उचाइमा बनाइएको छ ।

कुनै प्रकारको संक्रमण हुन नदिन, संक्रमण रोक्ने केमिकलको प्रयोग गर्ने गरिएको छ । फार्मको सफाइमा पनि निकै ध्यान दिइएको छ ।

फार्ममा तापक्रम, खाना, पानी, औषधि सबैको मापदन्ड र तालिका राखिएको छ । फार्मभित्र र बाहिरको हेरचाह तथा कामका लागि चारजना कर्मचारी खटिएका छन् ।

बारा, पर्सालगायत तराईका जिल्लामा प्रतिबन्धित भारतीय कुखुराको चल्ला आयात हुनेक्रम बढेपछि यसलाई नियन्त्रण गर्न स्वदेशमै ठूलो लगानीमा ह्याचरी स्थापना गरिएको शिवम् ह्याचरीका सन्चालक रिजवान अहमद बताउँछन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।