२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


पाँच दिनदेखि ईनारमा खसेका जिम्बाको सेनाद्वारा जिवितै उद्दार (तस्वीरसहित)


0
Shares

-प्रकाश मैनाली/ईमेज

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत घुर्कौली स्थित सुकेको ईनारमा खसेका एक सर्वसाधारणको सोमबार जिवितै उद्दार गरिएको छ ।

हरिवन नगरपालिका–५ निवासी ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेना रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले उनलाई सकुशल निकालेको हो ।

गत वैशाख १२ गतेदेखि हराईरहेका जिम्बालाई सोमबार बिहान ३० फिट गहिरो पानी सुकेको ईनारमा स्थानिय बालकले देखेका थिए ।

स्थानिय १३ वर्षीय बालक बिवस पाख्रीनले ईनारमा जिम्बालाई देखेपछि ‘भुत भुत’भन्दै गाउँतिर भागेपछि गाउँलेले घटनाबारे थाहा पाएका हुन् ।

देख्नेवितिकै स्थानियले प्रहरीलाई खबर गरेर ईनारमा फ्रुटी, पानी लगायत तल झारेको र जिम्बाले २ लिटर पानी सहित फ्रुटी तत्कालै खाएको स्थानिय समाजसेवी सुरेन्द्र लामाले बताए ।

५ दिनदेखि ईनार भित्रै रहेकाले जिम्बाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको हरिवन–५ का वडा अध्यक्ष नागेन्द्र साहले बताए ।

वडाअध्यक्ष साहले जिम्बालाई उपचारका लागि तत्काल नमुना अस्पताल पठाएका छन् ।

जिम्बाका श्रीमती सहित परिवारका सदस्यहरु भने खोज्दै बाहिर आफन्तकोमा पुगेको समाजसेवी सुरेन्द्र लामाले बताए ।