२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


महामन्त्री डा.कोइराला अझै अचेत, अस्पतालमा शुभेच्छुकको भीड


0
Shares

काठमाडौं, असार २२ । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

मंगलबार साँझ स्वास प्रश्वासमा समस्या देखिएपछि महामन्त्री कोइरालालाई उपचारका लागि काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो । उनलाई बेलुका ८ बजे अस्पतालमा भर्ना गरिएको हो ।

अस्पतालमा भर्ना गरिँदा उनको रक्तचाप कम देखिएको भए पनि राति अनाचक वान्ता भएको र त्यसपछि अचेत अवस्थामा भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले आज पत्रकार सम्मेलन गरी उनको उपचारमा १२ जना चिकित्सकको टोली खटिएको जानकारी दिएको छ । अस्पतालका कार्डियोलोजिस्ट डा. लवनरसिंह जोशीले कोइरालालाई निमोनियाको समस्या देखिएको र प्रेसर पनि कमजोर रहेको बताए ।

महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार नआए आजै एयर एम्बुलेन्समार्फत् उपचारका लागि भारत लैजाने तयारीसमेत भएको छ ।

कोइराला अस्वस्थ भएर उपचारका लागि अस्पतालमा भर्ना गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि स्वास्थ्यअवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।

त्यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता कार्यकर्ता पनि अस्पतालमा पुगेका छन् । ओम अस्पतालमा कांग्रेसका नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको छ ।