४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


अस्तव्यस्त नारायणगढलाई व्यवस्थित बनाउन यस्तो प्रयास(भिडियो)


0
Shares

-राजु चौधरी, ईमेज

चितवन, असार २३ । चितवनमा जनसंख्यासँगै यातायातको चाप पनि बढ्दै गएको छ । अत्यधिक सवारी चापका कारण नारायणगढ अस्तव्यस्त भएपछि यसलाई व्यवस्थित बनाउने प्रयास सुरु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको अग्रसरतामा नारायणगढ बजार व्यवस्थापन सुरु गरिएको हो । गाडीको अत्याधिक चाप र बढ्दो जनसंख्याले अस्तव्यस्त बनेको चितवनको नारायणगढ बजारलाई अहिले व्यवस्थित बनाउने अभियान सुरु भएको छ ।

लोकल रुट र लामो यात्राका गाडीले जहाँ पाए त्यही यात्रु चढाउने, ओराल्ने र पार्किङ गर्नाले भद्रगोल बनेको नारायणगढ बजार जिल्ला ट्राफिक प्रहरी कार्यालयको अग्रसरतामा उद्योग वाणिज्य संघ, नागरिक समाज, यातायात व्यवसायीको सहयोगमा अहिले बजार व्यवस्थित बनाउन थालिएको चितवनका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजन भेटवाल बताउँछन् ।

नारायणगढ बजार व्यवस्थापनका लागि गत सोमबारबाट निर्णय कार्यान्वयनमा ल्याइएको छ । यसअघि कार्यान्वयनमा ल्याउने भनिएका विभिन्न बुँदाहरु मध्ये ५ बुँदामा संशोधन गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।

मुख्य लोकल बसहरु चौबिस कोठीबाटै फर्कने भनिएकोमा अब लायन्सचोकसम्म आउन पाउने भएका छन् । पुल्चोक पुगी बस चढ्ने गरेका यात्रुहरु अब भने बसपार्क नै पुग्नुपर्ने भएको छ ।

यो नियमलाई कडाईको साथ लागु गर्न सकिए बजार व्यवस्थित हुने र यसमा यातायात व्यवसायीहरुको सदैव सहयोग रहने नारायणी यातायात बस व्यवसायी समितिका उपाध्यक्ष अशोक पोखरेल बताउँछन् ।

नारायणगढ बजारको व्यवस्थापनसंगै करोडौंको लगानीमा निर्माण भई प्रयोगविहीन बनेको भरतपुरस्थित केन्द्रीय बस टर्मिनल जिरो प्वाइन्ट पूर्ण रुपमा संचालनमा आएको छ ।

चितवनमा नारायणगढ बसपार्क र केन्द्रीय बस टर्मिनल दुई बसपार्क सञ्चालनमा आएका छन् । अहिले यातायात व्यवसायीहरुलाई ती दुवै बसपार्क सहज हुने स्थानबाट छुट्ने व्यवस्था मिलाएको छ ।

जता मन लाग्यो त्यतैबाट यात्रु चढाउने गरेका बसहरुले अब बसपार्कबाट मात्रै चढाउन पाउने भएपछि यात्रुहरुलाई पनि सहज बनेको छ ।