
प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, असार २३ । द्वन्द्वकालमा मारिएका आफ्ना छोराका हत्यारालाई कारबाहीको माग राख्दै अनसनकाक्रममा २१ महिनाअघि मृत्यु भएका गोर्खा, फुजेलका नन्दप्रसाद अधिकारीको अन्त्येष्टि अझै गरिएको छैन ।
नन्दप्रसादसँगै अनसनमा बसेकी उनकी पत्नी गंगामाया अहिलेपनि वीर अस्पतालको शैय्यामै अनसनमा छन् र आफ्नो मागमा उनी अडिग छन् ।
माओवादी कार्यकर्ताले २०६१ जेठ २४ गते चितवनमा छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरेपछि हत्यारालाई कारबाहीको माग गर्दै अनसनमा बसेकी गोर्खा, फुजेलकी गंगामाया अधिकारी अहिलेपनि आफ्नो मागमा अडिग छन् ।
पति नन्दप्रसादले २०७१ साल असोज ६ अनसनकैक्रममा देहत्याग गरे । पुत्रवियोग सहँदै आएकी गंगामाया पतिवियोगलाई पनि सहेर न्यायका लागि लडिरहेकी छन् ।
वीर अस्पतालको शैय्यामा दिवंगत छोरा र श्रीमान्को फोटो सिरानीमाथि झुन्ड्याएर उनी बसेकी छन् ।
आफूले अस्पतालको शैय्याबाट न्यायका लागि लडिरहेको विषयलाई कसैले कमाइखाने बाटो बनाएको भन्दै गंगामायाले दुःख व्यक्त गरिन् ।
कान्छो छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही गराउन झन्डै १० वर्ष हार–गुहार गर्दापनि केही नलागेपछि अधिकारी दम्पती बाध्य भएर २०७० साल असारदेखि आमरण अनसनको बाटोमा लागेका थिए ।
करिब १ वर्षको अनसनपछि नन्दप्रसादको २०७१ असोज ६ गते गते वीर अस्पतालमै निधन भएको थियो ।
नन्दप्रसादको शव झन्डै दुई वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा बरफभित्र रहेको छ ।
सरकारले २०७१ सालको कात्तिक १० गते नन्दप्रसादको अन्त्येष्टि गर्ने निर्णय पनि गरेको थियो । तर, अभैmसम्म अन्त्येष्टिसमेत हुन सकेको छैन ।
गंगामायाकाअनुसार उनका जेठा छोरा नूरप्रसाद पनि बाबुको निधनपछि सम्पर्कमा छैनन् । जसका कारण शवको अन्त्येष्टि गर्न व्यवहारिक कठीनाइ भैरहेको छ ।
शिक्षण अस्पतालकै इतिहासमा यति लामो समयसम्म शवगृहमा कुनै शव राख्नुपरेको पहिलो घटना भएको वरिष्ठ चिकित्सक डा. हरिहर वस्ती बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्