
फाइल फोटो
काठमाडौं, असार २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाका स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
स्वास्थ्यमा क्रमशः सुधार आएपछि विहीबार अपराह्न ३ बजेपछि उनलाई सघन उपचार कक्ष (आइसीयू)मा राखिएको छ ।
महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन ओम अस्पतालमा विहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा उपचारमा संलग्न चिकित्सक डा. लव जोशीले भने–‘अहिले उहाँ आफैं श्वास लिइरहुनभएको छ र पूर्णहोसको अवस्थामा हुनुहुन्छ ।’
महामन्त्री कोइरालालाई कुनै संक्रमण नहोस् भनेर अस्पतालले आइसीयूभित्र चिकित्सकबाहेक अन्यलाई जान बन्देज लगाएको छ ।
उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएपनि अझै खतरामुक्त भन्न नमिल्ने डा. जोशीको भनाइ थियो ।
मंगलबार साँझ श्वासप्रश्वासमा केही समस्या देखिएपछि डा. कोइराला राजधानीको ओम अस्पतालमा भर्ना भएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्