Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


पोलिक्लिनिकहरुमा चरम लापरबाही हुने गरेको खुलासा, १६ रुपैयाँको औषधि ५० रुपैयाँमा बेचियो


0
Shares

काठमाडौं, असार २३ । आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभाग नेतृत्वको टोलीले विहीबार पनि राजधानीका विभिन्न भागमा अनुगमन जारी राख्यो ।

नयाँबजार, बालाजु, माछापोखरी, गोंगबु, धापासीलगायतका स्थानमा स्वास्थ्य संस्था तथा औषधि पसलहरुमा छापा मारेको हो ।

आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभाग, औषधि व्यवस्था विभागको संयुक्त टोलीले गरेको अनुगमनकाक्रममा व्यापक अनियमितता भेटिएको छ ।

२०६३ सालमा एक वर्षको लागि पोलिक्लिनिक सन्चालनको अस्थायी स्वीकृति लिएको संस्थाले त्यसयता कुनै स्वीकृति नलिइ अहिलेसम्म सन्चालन गरेको पाइएसँगै सरकारको अनुगमन टोलीले बालाजु स्वास्थ्य क्लिनिकलाई ‘सिल’ गरिदिएको छ ।

यहाँ आवश्यक न्यूनतम् भौतिक पूर्वाधारबिना हावा छिर्ने वातावरण शुद्ध नभएको अँध्यारो कोठामा बिरामीको चेकजाँच गर्ने गरिएको पाइयो ।

साथै, १६ रुपैयाँ पर्ने टीटी औषधिलाई ३५ रुपैयाँमा बेच्ने गरेको पनि पाइएको छ ।

सरस्वती बुढाथोकीको नाममा फार्मेसी दर्ता गरिएको यो पोलिक्लिनिकमा सन्चालक भने अर्कै व्यक्ति थिए ।

यस्तै, क्लिनिकमा उपस्थित हुने भनेर उल्लेख गरिएका डाक्टरहरुको विवरण माग्दा पनि सन्चालकले उपलब्ध गराउन सकेनन् ।

यसैगरी, गाविस र कम्पनी रजिष्टार कार्यालयकोमात्रै स्वीकृति लिएर सन्चालन गरेको आराधना हेल्थ केयर सेन्टर पनि अनुगमन टोलीले सिल गरेको छ ।

कुनै स्वास्थ्य क्षेत्रसँग सम्वन्धित निकायको इजाजत नलिएको पाइएपछि सिलबन्दी गरिएको हो । यहाँ त्यही १६ रुपैयाँ पर्ने टीटीको औषधिलाई ५० रुपैयाँसम्म असुल्ने गरेको पाइयो ।

टोलीले क्लिनिकमा सिलबन्दी गर्दै कागजातसहित तीन दिनभित्रमा आपूर्ति व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

यसैक्रममा धापासीस्थित ग्रान्डी अस्पतालअगाडि सन्चालित शुभदीप फार्मेसीमा भने डाक्टरको सिफारिसबिना बिक्री गर्न नपाइने औषधि बिक्री गरिएको पाइयो । यस्तो औषधि बिक्री गर्दा व्यवस्थितरुपमा ‘रेकर्ड’ राख्नुपर्नेमा फार्मेसीमा कुनै रेकर्ड राखिएको पाइएन ।

यहाँ शुभदीप फार्मेसीको नाममा दर्ता गरेर रन फार्मेसीको नाममा बिल काटिएको पनि पाइयो । सो फार्मेसी पनि सरकारी टोलीले सिल गरिदिएको छ ।

विभागको नेतृत्वमा मंगलबारदेखि विशेष अनुगमन हुँदै आएको छ ।

मंगलबार आपूर्तिमन्त्री गणेशमान पुनकै नेतृत्वमा कालीमाटी तरकारी बजारमा अनुगनम गर्न जाँदा व्यापारीहरुले सरकारी टोलीमाथि नै व्यापक दुर्व्यबहार नै गरेका थिए ।

बुधबार विभागले पाटन औद्योगिक क्षेत्रमा खाद्य उद्योगहरुमा अनुगमन गर्दा पनि उत्पादनमा चरम लापरबाही हुने गरेको पाइएको थियो ।

अनुगमन निरन्तर जारी रहने पनि विभागले जनाएको छ ।