
बसन्त ठेकरे/कृष्ण लोथ्याल
दार्चुला, असार २४ । दार्चुलाको सदरमुकाम खलंगा बजार र आसपासका बस्ती तहस नहस हुने गरी २०७० साल असारमा महाकाली नदीमा बाढी आएको तीन वर्ष पूरा भएको छ ।
तर, अझै पनि बाढी पीडितले न त उचित राहत पाएका छन्, न त उनीहरुको पुनर्स्थापना नै हुन सकेको छ । बरु असार महिना लाग्ना साथ यहाँका बासिन्दा त्यो कहालीलाग्दो क्षण सम्झेर झस्कने गरेका छन् ।
पानी पर्न शुरु गरेसँगै दार्चुलाबासीको आँखा महाकाली नदीतिर सोझिने गरेको छ । कारण हो तीन बर्षअघि महाकालीको वितण्ड लिला । हुन पनि अचानक उर्लिएर आएको नदीले नेपाल र भारतमा गरी अर्बौंको क्षति पुर्याएको थियो । सयौं सर्वसाधारणलाई घरबारबिहीन बनायो । नदीको बहावले कटान गर्दा दार्चुला र धार्चुलाका नदी किनारका बासिन्दाको बिचल्ली बन्न पुग्यो । आफ्नै आँखा अगाडि महलजस्ता घरहरु नदीमा बगेर बिलिन बने । त्रासदीपूर्ण त्यस घटनाको तीन वर्षको अन्तरालमा पनि अवस्था भने जस्ताको तस्तै छ । सरकारी निकायले तदारुकता नदेखाउँदा अझै पनि नदी किनारका सर्वसाधारण डरै डरमा बस्न बाध्य छन् ।
तीन वर्ष बितिसक्दा पनि घरबारबिहीन बाढिपीडितको पुनःस्थापना हुन सकेको छैन । उनीहरुले उचित राहतसमेत पाउन सकेका छैनन् । राहतका नाममा जिल्ला दैवी प्रकोपको २० हजार रुपैयाँ र केन्द्रीय दैवी प्रकोपको १५ हजार रुपैयाँ गरी ३५ हजारबाहेक अरु केही नपाएको पीडितहरुको गुनासो छ ।
बाढीले घरमात्र बगाएन, दार्चुलाबासीको भएको जग्गा समेत महाकाली नदीले बहाब परिवर्तन गरेपछि भारतको धार्चुलातिरको भूमिमा जोडिदियो । जसले गर्दा विस्थापित बनेकाहरु अझै टहरोमै दिन कटाइरहेका छन् । सरकारको तर्पmबाट राहतको नाउँमा नाराबाहेक केही नपाएको गुनासो उनीहरुको छ । बाढीपीडितलाई दश लाख रुपैयाँ ब्याज मिनाह गर्ने राष्ट्रिय बाणिज्य बैंक र कृषि बिकास बैंक पनि अहिले मौन छ ।
महाकाली नियन्त्रणको लागि पक्की तटबन्ध निर्माण गर्न सरकारले गुरु योजना बनाएर पाँच बर्षे समय अवधिमा तिन अर्ब ५० करोडको लागतमा सम्पन गर्ने भनिएपनि समय सकिन लाग्दासमेत कामले पूर्णता पाएको छैन । काम ढिलो हुनुमा पटक पटकको बन्द, हड्ताल, भारतीय नाकाबन्दी र महाकाली नदीमा अचानक आउने पानीको बहावलाई ठेकेदारले सुत्रको रुपमा प्रयोग गरिरहेका छन् । जसले गर्दा तटबन्धको आधा काम पनि हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्