
काठमाडौं, असार २४ । संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिमा कपिलवस्तुको चन्द्रौटामा चार हप्ता पहिले सशस्त्र प्रहरी विन्ध्यवासिनी गणका प्रहरीहरुबाट एक महिलामाथि गरिएको भनिएको बलात्कारको घटनाका सम्बन्धमा छलफल गरिएको छ ।
समितिको बैठकमा सांसदहरुले उक्त घटनामा संलग्नलाई के कस्तो कारवाही प्रक्रिया चलिरहेको छ भनेर गृह मन्त्रालय र सुरक्षा अंगका प्रमुखहरुसँग जानकारी मागेका थिए ।
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राईले घटनामा संलग्न भएकालाई नियन्त्रणमा लिइ कारवाहीको प्रक्रिया थालिसकिएको जानकारी दिँदै दोषीलाई दण्ड र पीडितलाई न्याय दिलाइने प्रतिवद्धता जनाएका थिए ।
बलात्कारको घटनामा दुई जनाभन्दा बढी संलग्न नदेखिएको प्रहरी महानिरीक्षक अर्यालले जानकारी दिए ।
समितिका सदस्यहरुले भने बोल्न नसक्ने ३५ वर्षीय महिलाको बलात्कारमा दश सशस्त्र प्रहरी संलग्न रहेको दाबी गरेका थिए । पीडित महिला बोल्न नसक्ने भएकाले अनुसन्धानमा अप्ठेरो परेको प्रहरीको भनाइ छ ।
गत जेठ ३० गते चन्द्रौटास्थित जबइ खोलामा भैंसी चराउन गएकी महिलाको विन्धवासिनी सशस्त्र प्रहरी गणका प्रहरीले बलात्कार गरेका थिए । बलात्कारमा संलग्न भएको अभियोगमा प्रहरीले सहायक हवल्दार राजु थारू र जवान लोकराज अवस्थीलाई पक्रेर कारवाही चलाइसकेको छ ।
समितिले बलात्कारमा थारु र अवस्थी बाहेक अरु प्रहरी पनि सामेल भएको आशंका गर्दै मनोचिकित्सक समेत राखेर केन्द्रीय अनुगमन टोली गठन गरी भरपर्दो छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्