१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


स्थलगत रिपोर्टः भोटेकोसीको बाढीले तातोपानीबजारको दुर्दशा, यस्तो छ क्षति (भिडियोसहित)


0
Shares

दिनेश थापा (इमेज)
सिन्धुपाल्चोक, असार २४ । बिहीबार दिउँसो नेपाल–चीन सीमाको तातोपानी बजार पुग्दा त्यहाँको अवस्था देखेर जो–कोहीको मन थामिन नसक्ने अवस्था थियो ।

भोटेकोसी नदीले कटान गर्दै गरेको घरभित्र ज्यानको जोखिम मोलेर घरमा रहेका सामग्री स्थानीयले जसोतसो निकालिरहेका थिए ।

पिठ्युमा दूधे बच्चा च्यापेर महिला, केटाकेटी, बृद्धबृद्धा सबै आफ्नो सामन निकाल्न व्यस्त थिए ।

इमेजको टोली तातोपानी बजार पुग्दा स्थानीय प्रकृतिले दिएको कठोर पीडा सुनाइरहेका थिए । घरबाट जसोतसो सामन निकाले पनि ती सामान राख्ने ठाउँ नहुँदा उनीहरु थप पीडामा थिए ।

तातोपानीबाट केहीमाथि कोदारी बजारमा पुग्दा त्यहाँको दृष्य पनि मन थामी नसक्नुको थियो ।

तलबाट भोटेकोसी नदीले घर कटान गर्दै लगेपछि स्थानीय बचेको घर भत्काएर घरका काठपात निकाल्न व्यस्त थिए ।

प्रकृतिले दिएको यो पीडासँगै भूकम्पपछि विस्थापित भएर आफ्नो थातथलो छाड्न बाध्य सिन्धुपाल्चोक, तातोपानी गाविस आसपासका स्थानीय त्यहाँबाट पनि विस्थापित भएका छन् ।

मंगलबार राति चीनको तिब्बती क्षेत्रमा भीषण वर्षा भएपछि उर्लेर आएको भोटेकोसी नदीले घर–टहरा कटान गरेपछि यस क्षेत्रका स्थानीय फेरि विस्थापित भएका हुन् ।

भोटेकोसी नदीले तातोपानी आसपासका घर कटान गर्दै लगेपछि स्थानीयले घरभित्र भएको सामग्री निकालेर सुरक्षित स्थानमा राख्न थालेका छन् ।

घरभित्रको सामग्री राख्ने सुरक्षित स्थान नै नभएपछि स्थानीय चिन्तित छन् ।

नदी घर कटान गर्न सुरु गरेपछि बाँकी रहेको घर–टहरा स्थानीयले भत्काउन सुरु गरेका छन् ।

घरको काठपात भएपनि काम लागोस् भनेर घर भत्काउन सुरु गरेको यहाँका स्थानीयले बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।