Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


काठमाडौंको किलागलमा संयुक्त आवास बनाउने योजना स्वीकृत


0
Shares

काठमाडौं, असार २४ । काठमाडौं महानगरपालिका वडा नम्बर–१८ किलागलस्थित दुम्बो चुकमा भूकम्पबाट प्रभावित ५४ घर–परिवारका लागि बनाउन प्रस्ताव गरिएको सामूहिक आवास भवन निर्माण योजनालाई महानगरपालिकाले स्वीकृति दिएको छ ।

महानगरपालिकको स्वीकृतिपछि शुक्रबार काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीसमक्ष घर-जग्गा अधिग्रहण (हाउस पुलिङ)का लागि ५४ घर–परिवारले दिएको संयुक्त निवेदनसहित यो योजनालाई कार्यान्वयनका लागि प्रस्तुत् गरियो ।

सो अवसरमा आयुक्त तिवारीले यो आयोजना नमुनाकोरुपमा रहने विश्वास व्यक्त गर्दै यसलाई सफल पार्न आफूले सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।

उनकाअनुसार योजना सन्चालनका लागि प्राधिकरण, महानगरपालिका र स्थानीय बासिन्दाको एक व्यवस्थापन समिति गठन गरिने छ ।

ऐतिहासिक काठमाडौं सहरभित्रको बस्ती विकासका लागि प्राधिकरणले अहं भूमिका खेल्ने र त्यसक्षेत्रमा आवश्यक पर्ने बाटो, बिजुली, खानेपानी तथा ढल जस्ता पूर्वाधारको व्यवस्थापनका लागि सम्बन्धित निकायलाई आग्रह गरिने उनले बताए ।

एकीकृत विकास पुनःनिर्माण अभियानका संयोजक मचाराजा महर्जनले प्राधिकरणका प्रमुख तिवारीलाई स्थानीयबासीको निवेदन र उनीहरुका जग्गाधनी पुर्जाका प्रतिलिपि बुझाएका हुन् ।

घर–जग्गा अधिग्रहण भएपछि बढीमा तीन वर्षभित्र उपभोक्ताहरुलाई अपार्टमेन्ट उपभोगका लागि हस्तान्तरण गरिने योजना छ ।

गत वर्ष वैशाख १२, १३, २९ मा गएका ठूला भूकम्प र त्यसपछिका पराकम्पनका कारण काठमाडौंको भित्री सहरमा थुप्रै घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको र दाजुभाइको अंशबन्डाबाट स–साना टुक्रामा विभाजित भइ जोडिएका त्यस्ता घर आफूखुसी बनाउनसक्ने अवस्था पनि नरहेकाले स्थानीयबासीकै पहलमा यस्तो संयुक्त आवास बनाउने पहलकदमी लिइएको हो ।

यस्तो आवासको निर्माण गर्दा खुला ठाउँ, बाटो र व्यवस्थित आवासका साथै स्वच्छता कायम भइ नागरिकलाई सुविधा पुग्ने विश्वास महर्जनले व्यक्त गरे ।

यो योजना सफल भए काठमाडौंका नेवारको बसोबास रहेका भित्री सहरका अन्य भागमासमेत एकीकृत बस्ती विकासको पहल हुने अभियानका सदस्य नेवाः जागरण मञ्चका अध्यक्ष सुजिव बज्राचार्यले बताए ।

उनले संयुक्त आवासका लागि महानगरपालिकाले रु. पाँच करोड बजेट विनियोजन गरेको जानकारी पनि दिनुभयो । रासस