१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


पेटको ट्युमरले बालिकाको ज्यान जोखिममा


0
Shares

कालीकोट, असार २४ । कालीकोटको सिपखाना गाविसमा तीन वर्षीया बालिकाको गएको एक वर्षदेखि पेटमा पलाएको ट्युमरका कारण ज्यान नै जोखिममा रहेको छ ।

सिपखाना गाविस–२ का व्यासी दर्जीको तीन वर्षीया छोरी नेत्रा दर्जीको ज्यान जोखिममा रहेको छ ।

लामो समयदेखि बिरामी देखिएपनि स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निको भएन ।

आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि जिल्लाबाहिर लैजान नसकेको नेत्राकी आमा सुन्पुराले बताएन् ।

सुरुआतमा पेट बढ्दै गएपछि कुपोषणका कारण बढेको हो भनेर स्वास्थ्यकर्मीले भनेपछि खानाका लागि आफूहरुले ध्यान दिएको भएपनि पछिल्लो समयमा झनझन् बढ्दै गएपछि आफूहरुलाई पनि असहज भएको सुन्पुराको भनाइ रहेको छ ।

दिनानुदिन पेट बढ्न थालेपछि फेरि चेकजाँच गर्न खोज्दा ट्युमर नै भएको भनेपछि आफूहरु छाँगाबाट झरेकोजस्तो महसुस भएको उनका बाबु व्यासी दर्जीले बताए ।

आफूले उपचारका लागि सहयोग गरिदिनका लागि फेसबुकमार्फत् अनुरोध गरेको स्थानीय स्वास्थ्यकर्मी हंसराज न्यौपाने बताए ।

जिल्लास्थित विभिन्न निकायमा उपचारका लागि सहयोग माग्न बाबु–आमासहित जान लागेको बताइएको छ ।

गाविसले सामान्य सहयोग गर्ने भने पनि उपचारका लागि रु चारदेखि पाँच लाख लाग्नसक्ने अनुमान गरिएको परिवारले जनाएको छ । रासस