१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


यो के खाँदै छौँ हामी ? : मासु काट्ने ठाउँमा किरैकिरा


0
Shares

काठमाडौं, असार २५ । राजधानीमा सबैभन्दा बढी खपत हुने खाजा हो, ‘मःम’ । त्यसमा पनि ‘बफ मःम’ धेरैको रोजाइमा पर्ने गर्छ । मःम बनाउने कच्चा पदार्थ (राँगा, भैँसीको मासु) भने कल्पनै गर्न नसक्ने दुर्गन्धित र अस्वस्थ पाइएको छ ।

वधशालमा किराको बास

मासु काट्ने वधशाला सफा र सुग्घर हुनुपर्ने मापदण्डमा उल्लेख छ । तर, त्यहाँको दृश्य ठीकविपरीत थियो । जताततै फोहोरको दुर्गन्ध मात्र होइन, सेता किरा स्याउँस्याउँ कुदिरहेका थिए । ती किरा मासु खाने र फर्कने गरिरहेका थिए ।

सञ्चालकले प्लास्टर गरिएको भुइँ कतै सफा नराख्दा किरा परेको थियो । त्यस्तै जताततै रगतको छिटा देखिन्थ्यो । हाडखोरको थुप्रो त्यहीँ एक कुनामा थियो ।

रोगी राँगा र भैँसी खपत

वधशालामा रोगी राँगा र भैँसी काट्ने गरेको पनि पाइएको छ । रोग लागेका राँगा, भैँसीको मासु खाँदा विभिन्न रोग सर्ने सम्भावना हुन्छ । तर, सञ्चालकले सस्तो मूल्यमा पाइने भएकाले रोगी र बुढो भैँसी विभिन्न स्थानबाट ल्याउने र वधशालामा काट्ने गरेको टोलीले फेला पा-यो ।

‘वधशालामा राखिएका राँगा, भैँसी अस्वस्थ र रोगी देखिन्थे,’ अनुगमन टोलीकी सदस्य उपभोक्ता अधिकारकर्मी विमला खनालले भनिन् । राँगा, भैँसी राख्ने ठाउँमा ग्याजग्याज हिलो थियो, वरिपरि झिँगालगायत रोग फैँलाउने अन्य किरा भन्किरहेका थिए ।’

अर्कोतर्फ वधशाला आवास क्षेत्रमा र अझ घरसँगै जोडेर चलाइएको थियो । ‘वधशाला सञ्चालन गरेको स्थान घना बस्तीमा पाइयो, एउटा घर त सँगै टाँसिएको रहेछ,’ उनले भनिन्, ‘त्यति धेरै फोहोर गरी सञ्चालन गरेको वधशालाले उपभोक्ताको स्वास्थ्यमा ठूलो खेलवाड गरेको देखियो ।’ पसलमा राखिएको ढक, तराजु पनि प्रमाणित नभएको पाइएको उनले बताइन् ।

११ वर्ष दर्ता नभई सञ्चालन अत्यधिक फोहोर भेटिएको ‘मोज मिल सेन्टर’ वधशाला १५ वर्षदेखि सञ्चालनमा रहेको, तर चार वर्षअघि मात्र दर्ता गरेको पाइएको पशु चिकित्सक डा. नारायणप्रसाद घिमिरेले जानकारी दिए । ‘त्यति विघ्न फोहोर वधशाला १५ वर्षदेखि सञ्चालनमा रहेको पाउँदा उपभोक्ताको स्वास्थ्यमा कतिसम्म खेलवाड भइरहेको रहेछ भनेर आश्चर्य लाग्यो,’ उनले भने, ‘चार वर्षअघि दर्ता गरेको पाइयो ।

दर्तै नगरेका वेला त झन् कस्तो मासु बिक्री हुन्थ्यो होला ।’ उपत्यकाको थानकोट, टेकु, जोरपाटी, शोभाभगवती मन्दिरछेउको विष्णुमती नदी किनारमा गरी पाँच–सातवटा यस्ता वधशाला सञ्चालनमा रहेको उनले बताए ।

‘जति सञ्चालनमा छन्, ती सबै सतुंगलमा भेटिएभन्दा फरक छैनन्, सबै फोहोर छन्,’ उनले भने । अरू वधशालामा धमाधम सफाइ शुक्रबारै अनुगमन टोलीले ‘ह्युमत वधशाला’को पनि अनुगमन गरेको छ । अनुगमन टोली पुग्दा कामदार धमाधम सफाइ गर्दै थिए । अनुगमन टोली आउँदै गरेको थाहा पाएपछि उनीहरू सफाइमा जुटेका थिए । उनीहरूले सफाइ गरेर ठीक पारेकाले त्यहाँ खासै समस्या देखिएन ।

शुक्रबारै टोलीले कालिमाटीस्थित माछा बजारको पनि अनुगमन ग¥यो । जनकपुर माछापसल, मानन्धर माछापसल, न्यु फिस हाउसलगायतको निरीक्षण गरिएको थियो । सबैले पसलभित्र माछा नराखेर बाटोमा खुला रूपमा बिक्री गरेको पाइएको टोली सदस्य खनालले बताइन् ।

मासु काट्ने ठाउँमा किरैकिरा

डा. नारायण घिमिरे पशु चिकित्सक, भेटेनरी जनस्वास्थ्य कार्यालय,

त्रिपुरेश्वर उपत्यकामा राँगा, भैँसीको मासु काट्ने वधशालाको अकस्मात् अनुगमन गर्ने सिलसिलामा हामी सतुंगलस्थित ‘मोज मिल सेन्टर’ पुग्यौँ । पसलमा राँगाको मासु बिक्री गरेको देखेपछि कहाँबाट ल्याएको भनेर सोध्दा सञ्चालकले नजिकै वधशाला छ भन्ने जवाफ दिए ।

त्यसपछि वधशाला हेर्न गयौँ । कलंकी–थानकोटको मुख्य सडकबाट करिब २०–२५ मिटरको दूरीमा एउटा घरसँगै टिनको छाप्रोमुनि वधशाला रहेछ । दुर्गन्ध टाढासम्मै फैलिएको थियो । सकसका बीच वधशालाभित्र पस्यौँ । एउटा कुनाबाट सेतो र लामो किरा गजगज निस्किरहेको देख्यौँ। छाला, मासु, हड्डी यत्रतत्र फालिएका थिए । आन्द्राभुँडी असरल्ल थिए । लादी एउटा कुनामा फालिएको थियो ।

त्यहीँबाट किरा निस्किरहेका थिए । पुरानो छाला मासुसागै नजिकै राखिएको थियो । पानीको इनारभित्रै थियो । त्यस्तो फोहोर स्थानबाट तल पानी जाने र त्यही पानी इनारबाट फेरि माथि आउने हो ।

वधशालामा सफा भन्ने कतै थिएन, फोहोर पनि हदैसम्म गरिएको थियो । वधशाला गाविसमा दर्ता गरेर सञ्चालनमा आएको कर्मचारीले बताए । हामीले छाला निकाल्न दियौँ र मासु डम्पिङ गर्ने सर्तमा सिल लगाएर आयौँ ।

-अजित अधिकारी, नयाँ पत्रिका दैनिकबाट