
फाइल फोटो
काठमाडौं, असार २५ । व्यवस्थापिका–संसदको शनिबारको बैठकको शून्य समयमा सांसद कृपाराम रानाले कन्चनपुरमा हत्या–हिंसाका घटना बढेको बताएका छन् ।
सांसद कृष्णभक्त पोखरेलले भने सुकुम्बासी समस्या समाधान सदाका निम्ति गर्नुपर्नेमा जोड दिए ।
सांसद गणेशसिंह ठगुन्नाले तिंकर नाका सन्चालन गर्न सरकारसँग माग गरे ।
सांसद गुरुप्रसाद बुर्लाकोटीले धादिङ जिल्ला अस्पतालको स्तरोन्नतिका निम्ति ध्यानाकर्षण गराए ।
सांसद गौरीशंकर चौधरीले मुक्तकमैयाको पुनःस्थापना पूर्णरुपमा नभएको र पुनःस्थापना भएकाले पनि जग्गाधनी प्रमाणपत्र नपाएको गुनासो गरे ।
नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले त्रिवि शिक्षण अस्पतालमा सार्वजनिक बिदाका दिन पनि कर्मचारीको व्यवस्था हुनुपर्ने माग गरे ।
सांसद जमिन्द्रमान घलेले शून्य समय र विशेष समयमा उठाइएका विषय राज्यबाट सम्बोधन हुने व्यवस्थाका लागि सभामुखबाट विशेष प्रयास हुनुपर्नेमा जोड दिए ।
सांसद चूडामणि विकले पोखराका जनताले स्वच्छ पेयजल नपाएकाले ध्यान दिइनुपर्ने बताए ।
सांसद जेबी टुहुरेले संसदको आफ्नै भवन कहिले निर्माण हुन्छ, त्यसको जवाफ तत्काल राज्यले दिनुपर्ने माग गरे ।
सांसद टीकाराम चेम्जोङले धनकुटा जिल्ला अस्पतालको स्तरबृद्धि नहुँदा धनकुटाबासीले सहजरुपमा स्वास्थ्यसेवा प्राप्त गर्न नसकेको बताए ।
सांसद डिल्ली काफ्लेले उमावि शिक्षालाई निःशुल्क गर्न माग गरे ।
सांसद तुलसा रानाले ‘बिजुलीको महसुल बढाएर जनताको ढाड सेक्न पाइँदैन’–भनिन् ।
त्यसअघि, बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर आन्दोलनरत् मधेसी दलका तर्फबाट सांसद उषा यादवले वार्ताको वातारण बनाउने चेस्टा सरकारबाट नभएको आरोप लगाउँदै संविधान पुनःलेखनको माग गरिन् ।
संघीय गठबन्धनका २६ बुँदे माग पूरा नभए कडारुपमा प्रस्तुत् हुने चेतावनी दिँदै उनले आजको बैठकको कारबाही गठबन्धनसम्बद्ध आठ दलले बहिस्कार गर्ने बताइन् ।
उनको घोषणासँगै गठबन्धनमा आबद्ध दलका सांसद बैठक कक्षबाट बाहिरिएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्