१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


भोटेकोशीले मच्चाएको वितन्डा : हालसम्म कहाँ, कति क्षति ?


0
Shares

सिन्धुपाल्चोक, असार २६ । भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म भएको क्षतिको पूर्ण विवरण प्राप्त भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले दिएको जानकारी अनुसार हालसम्म तातोपानी गाबिसको तातोपानी बजार र लिपिङ बजार क्षेत्रका ४० घरमा कटानका कारण पूर्ण रुपमा क्षति पुगेको छ ।

यस्तै, बाढीले तातोपानीमै एनसेलको टावर रहेको घर कटान गरेपछि तातोपानी क्षेत्र सञ्चारविहीन छ । यसअघि राजमार्गका विभिन्न भागमा सडक कटान गरेकाले सडक सञ्जालबाट सीमा क्षेत्रको सम्पर्क विच्छेद भइसकेको थियो ।

बाढीले २ वटा जेनेरेटर, मार्मिङ र लिस्ती जोड्ने झोलुङे पूल र मध्य भोटेकोशीको बेलिबृज पनि बगाएको छ । बाढीले माथिल्लो भोटेकोशी हाइड्रोको ड्याममा क्षति पु¥याएको छ भने सुनकोशी हाइड्रोको ड्याम्साइडमा समेत क्षति पुगेको छ ।

बाढीले बाहबिसेमा एउटा घर बगाएको छ भने ७ सय कुखुरा सहितको फार्म, प्लाइउड कारखाना, ब्लक कारखाना र जाली बुन्ने कारखानामा क्षति पु¥याएको छ । बाढीले बाह्रबिसे देखि तातोपानीसम्म ३१ वटा बिजुलीका पोल र एउटा ट्रान्स्फरमर समेत बगाएको छ ।

बाह्रबिसे, जम्म्बो, बोडरलाइन, चाकु लगायतका क्षेत्रमा बाढिले कटान गरेका कारण राजमार्ग अबरुद्द छ । बाढीका कारण जोखिममा परेका मध्ये ५८ जनालाई १० किलो भन्ने ठाउंँबाट हेलिकोप्टरमार्फत बाह्रबिसे ल्याइएको छ भने ४४ जनालाई बसबाट काठमाडौं र बाँंकी १३ जनालाई बाह्रबिसे, बलेफी क्षेत्रमा राखिएको जनाइएको छ ।

तातोपानी क्षेत्रमा बाँंकी रहेका बाढी पीडितलाई नेपाल रेडक्रसको सहयोगमा ३ सय किलो चामल, दाल, तेल र नून बितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सबै सुरक्षा निकायको परिचालन गरी सुरक्षा उद्दार र राहतका कार्य संचालन जारी रहेको समेत प्रमुख जिल्ला अधिकारी दुवाडीले जानकारी दिए ।