
काठमाडौं, असार २६ । दमका रोगी डोल्पा जुफाल– ३ का ६५ वर्षीय सिंहबहादुर शाहीलाई उनका आफन्तले आठ दिन अघि बोकेरै डोल्पाको जुफाल हवाई मैदान ल्याइपुर्याए । शाहीलाई उपचारका लागि नेपालगन्ज लैजान आफन्तले तारा एयरलाइन्सको टिकट त मुस्किलले जुटाए । तर दिनभर पानी परेकाले जहाज नेपालगन्जबाट जुफालका लागि उड्न पाएन ।
अर्को दिन नेपालगन्जबाट उडेको जहाज डोल्पा अवतरण गर्न नपाइकनै बीचबाटो बाटै फर्क्यो । वृद्ध शाहीको जहाज कुर्दाकुर्दै ज्यान गयो । उपचारका लागि नेपालगन्ज पुग्नै पाएनन् शाही ।
यस्तै एक साता अघि दमका रोगी डोल्पा जुफाल– ९ का भुवन श्रेष्ठलाई नेपालगन्जमा उपचार गरी जहाजबाट घर ल्याइयो । तर दमले बेस्सरी च्यापेपछि उनलाई उपचारका लागि पुनः नेपालगन्ज नै लगियो । रोग निको नहुने भएपछि श्रेष्ठलाई घर फर्काउनु पर्ने भयो । समयमै जहाज उड्ने स्थिति नभएपछि उनको शुक्रबार नेपालगन्जमै प्राण गयो । उनी डोल्पा पुग्न पाएनन् । ‘जीउँदो त परैजाओस् शव समेत ल्याउन सकिएन,’ डोल्पा सदरमुकाम दुनैमा अध्यापन गर्दै आएका श्रेष्ठका छोरा महेन्द्रले टेलिफोनमा कुरा गर्दै भने । शव ल्याउन नसकिएपछि उनको बुवाको शनिबारै नेपालगन्जमा दाहसंस्कार गरियो । तर छोरा महेन्द्र भने बुवाको दाहसंस्कारका लागि उडान अवरुद्ध भएपछि जान पाएनन् ।
यसैगरी, विद्यालयबाट घर फर्किंदा डोल्पा त्रिपुराकोट– ३ का सात वर्षीय नरबहादुर नेपालीको १४ दिनअघि बायाँ हात भाँचियो । उपचारका लागि दुनै अस्पताल लगिएपनि उनको उपचार हुन सकेन । त्यहाँको अस्पतालका कर्मचारीले नेपालगन्ज वा काठमाडौंमा जान सल्लाह दिए । तर अति विपन्न परिवारका नेपालीलाई उपचारको मेसो मिलाउन हम्मेहम्मे पर्यो । दुनैस्थित एक गैरसरकारी संस्थाले टिकटको व्यवस्था गरेपछि नरबहादुर हजुरआमा कालीकमरासँगै उपचारका लागि आज काठमाडौँसम्म आइपुगेका छन् ।
जहाज चढ्न उनले पाँच दिनसम्म जुफाल हवाई मैदानमै बस्नुपर्यो । शनिबार तारा एयरलाइन्सको जहाजबाट नेपालगन्ज पुगेका नेपाली त्यहाँबाट काठमाडौँका लागि बस चढे । ‘काठमाडौँ त आइपुग्यौँ, तर उपचारका लागि कता लैजाने हो कुनै टुङगो छैन,’ कालीकमराले भनिन् । उपचारका लागि आर्थिक अवस्था कमजोर भएको उनको भनाइ छ ।
डोल्पामा सुविधासम्पन्न अस्पताल छैन । त्यसैले डोल्पाली सामान्य उपचारका लागि नेपालगन्ज र काठमाडौँका महङ्गा अस्पताल धाउन बाध्य छन् । आर्थिक जोहो गर्न नसक्दा कतिपयले घरमै अकालमा ज्यान गुमाउँछन् । आर्थिक जोहो गरिहाले पनि अस्पतालसम्म पुग्न यातायातको असुविधाका कारण सहज छैन । यस्तो अवस्थमा उनीहरु प्रायः जहाजको भर पर्नुपर्ने हुन्छ । तर यसका लागि सँधै मौसम बाधक बन्ने गरेको छ । ‘पाँच दिनपछि बल्ल उडान भयो,’ जुफाल हवाई मैदानमा रहेका तारा एयरलाइन्सका कर्मचारी लंक भण्डारीले भने, ‘जहाज चढ्नु त यहाँका नागरिकलाई चिट्ठा पर्नु सरह हो ।’
पाँच दिनदेखि डोल्पाको जुफाल हवाई मैदानमा थन्किएका करिब ६० जना यात्रु शनिबार र आइतबारको उडानबाट सुर्खेत र नेपालगन्ज पुग्न पाएका छन् । शनिबार र आइतबार गरी ६० भन्दा बढी यात्रु डोल्पाबाट नेपालगञ्ज र सुर्खेत झरेका छन् । तारा, गोमा र मकालु एयर लाइन्सले दैनिक डोल्पाका लागि उडान भर्छन् । तारा एयरलाइन्सका नेपालगञ्जस्थित कर्मचारी दिलीप कार्कीले सामान (कार्गो) पाए मात्रै उडान भर्ने गरेको बताए ।
‘सामान पाए मात्रै उडान भर्ने हो, यात्रुमाथि निर्भर रहन्नौँ,’ उनले भने ।
मौसमले साथ दिए दैनिक बिहान ११ बजेसम्म मात्रै तारा, गोमा र मकालुले डोल्पाका लागि उडान भर्ने गरेका छन् । ‘दिउँसो बेगले हावा चल्छ, उडान भर्न मिल्दैन,’ गोमा एयरका सुर्खेतस्थित स्टेशन म्यानेजर सरोज उप्रेतीले भने । उडान सेवा यात्रु भन्दा पनि कार्गोमाथि निर्भर हुने गरेको उनको भनाइ छ ।
यस याममा डोल्पाको आकाशमा अधिकांश समय बाक्लो कुहिरो लागिरहन्छ । त्यसैले उडान भर्नु निकै जोखिमपूर्ण मानिन्छ । तारा एयरले पछिल्लो पाँच दिनयता नेपालगन्जबाट सात पटक उडान भरेको तर डोल्पा सिमानामा पुगेर फर्किने गरेको पुगेर फर्किएको तारा एयरलाइन्सका कर्मचारी कार्कीले बताए । यसरी उडान भर्दा कम्पनीलाई लाखौँ रुपैयाँ घाटा हुने उनको भनाइ छ ।
डोल्पादेखि नेपालगन्जका लागि तारा एयरलाइन्सले प्रतियात्रु रु आठ हजार ८९५ लिने गरेको छ । सुर्खेतका लागि गोमाले रु चार हजार र मकालुले रु चार हजार ५०० भाडा लिने गरेका छन् । तारा एयरले नेपालगञ्जका लागि उडान भर्ने गरेका कारण यात्रुको चाप अत्यधिक हुने गरेको छ । टिकट सितिमिति पाइँदैन । बिरामी तथा जरुरी काम परेका यात्रु मारमा पर्ने गरेका छन् । कतिपयले एकअर्कासित टिकट साटासाट समेत गर्ने गरेका छन् । ‘पैंसो हुनेले हेलिकप्टर चार्टर गरेर यात्रा गर्ने गरेका छन्,’ जुफालस्थित तारा एयरलाइन्सका कर्मचारीले भण्डारीले भने । हेलिकप्टर चार्टर गर्दा भाडा प्रतियात्रु रु ३० हजारदेखि रु ४० हजारसम्म तिर्नुपर्ने हुन्छ ।
सडक पहुँच मार्ग रुकुमको गोताम र जाजरकोटको चौख्यासम्म पुग्न सदरमुकाम दुनैबाट दुई दिन पैदल हिँड्नु पर्छ । बिरामी, असक्त र बालबालिकालाई सडक मार्ग असहज हुन्छ । त्यही भएर डोल्पालीले प्रायः जहाज नै चढ्ने गरेका छन् । जहाज चढ्न पनि सहज छैन । उनीहरु चर्को भाडा त जेनतेन तिर्छन् तर त्यो भन्दा खराब मौसम डोल्पालीलाई अभिशाप नै हुन्छ । (रासस)
प्रतिक्रिया दिनुहोस्