
काठमाडौं, असार २६ । नेपालको स्वास्थ्य शिक्षा र चिकित्सा क्षेत्रको सुधारका लागि पटक पटक अनशन बस्दै आएका डा. गोविन्द केसी आजदेखि फेरि आमरण अनशनमा बसेका छन् ।
यसअघिका अनशन तोड्ने क्रममा सरकारले आफू र सरोकारवालाहरुसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै डा. केसी आठौं पटक आमरण अनशनमा बसेका हुन् ।
त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवनको दोस्रो तल्लाको एउटा कोठामा अनसन बसेका डा. केसीले सरकारले पटक पटक धोका दिएकाले आपूm फेरि अनशन बस्न बाध्य भएको बताए । उनले चिकित्सा शिक्षा ऐन मस्यौदामा सुधार गरी संसदको अधिवेशनबाट पारित गर्न र आफ्नो अधिकार क्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्तलाई संसदबाट महाअधियोगको प्रक्रिया अघि बढाउनसमेत माग गरेका छन् ।
उनले माथेमा प्रतिवेदनको सुझाव विपरित सरकार गएको भन्दै प्रतिष्ठान सम्बन्धि विधेयक परित गर्न खोज्ने सांसदहरुलाई समेत कारवाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
यसैबीच, डा. केसीलाई अस्पताल हाताभित्र अनसन नबस्न आग्रह गर्दै विरोधमा उत्रिएको अस्पताल बचाऊ समूह र डा केसी पक्षधरबीच भनाभन समेत भएको थियो ।
यस्तै विवेकशील नेपालीको नाममा केही युवाहरुले डा. केसीका माग जायज भएको भन्दै उनको समर्थनमा अस्पताल बाहिर धर्ना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्