२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


नयाँ सरकारबारे प्रमुख दलहरुका आ–आफ्नै तर्क


0
Shares

काठमाडौं, असार २६ । नेकपा एमालेका नेता शंकर पोख्रेलले निर्वाचनका लागि राष्ट्रिय सहमति चाहिएको हो भने तीनवटा निर्वाचन प्रमुख तीन दलले पालै पालो नेतृत्व गरेर गर्न सकिने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आईतबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘चुनाव गराउनका लागि राष्ट्रिय सहमति चाहिदैन तर संक्रमणकालमा चुनाव गराउन सहमति नै चाहिएको हो भने तीनवटा चुनाव तीन प्रमुख दलले पालै पालो नेतृत्व लिएर गरौं ।’

सो अनुसार केपी शर्मा ओलीको नेतृत्वमा अहिले सरकार रहेकोले स्थानीय निकायको निर्वाचन यही सरकारलाई गर्न दिन सकिने उनको भनाइ थियो ।

पोख्रेलले माओवादीसँग नौ बुँदे बाहेक कुनै भद्र सहमति नभएको दावी गर्दै नौ बुँदे सहमतिसँगै माओवादीले तीन बुँदे अर्को सहमति ल्याएको तर प्रधानमन्त्रीले आफू कुनै बन्धनमा बाधिएर सरकार चलाउन ईच्छुक नभएको बताएपछि नौ बुँदे बाहेक कुनै सहमति नभएको स्पष्ट पारे ।

उनले राष्ट्रिय सहमति कायम गर्न ब्यक्तिलाई अगाडि सारेर हुन नसक्ने भएकोले एजेण्डालाई अघि सार्नु पर्ने भन्दै संविधानको कार्यान्वयन, भूकम्प पछिको पुनर्निर्माण र मुलुकको आर्थिक समृद्धि अहिले सहमतिको एजेण्डा बन्न सक्ने स्पष्ट पारे ।

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख ठूला दुई दल कांग्रेस र एमाले सँगै सरकारमा बस्नै नसक्ने ठोकुवा गर्दै संविधानमै सहमतीय सरकारको ब्यवस्था नरहेकोले त्यसको कुनै सम्भावना नरहेको दावी गरे ।

कांग्रेस प्रतिपक्षमा रहे पनि संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणको विषयमा सरकारसँगै रहेको स्पष्ट पार्दै माओवादीले भनेजस्तो संविधान कार्यान्वयनका लागि सहमति आवश्यक नरहेको स्पष्ट पारे ।

उनले भने, ‘संविधान कार्यान्वयनमा हामी प्रतिपक्ष होईनौं । संविधानलाई सर्वस्वीकार्य बनाउने हो । यसमा हामी सधै अग्रसर हुन्छौं ।’

कांग्रेससँग बहुमत नभएकोले कांग्रेस प्रतिपक्षमा रहेको स्पष्ट पार्दै उनले सत्तारुढ दल माओवादीले सरकारको विषय कुनै निर्णय नगरेसम्म कांग्रेसको भूमिका नै नहुने बताए ।

नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले अब सहमतिको सरकार निर्माणको प्रक्रिया तिब्र हुने बताउँदै संविधानको कार्यान्वयनसहित मुलुकको समस्या समाधान गर्न पनि सहमतिको सरकार अपरिहार्य रहेको तर्क गरे ।

उनले भने, ‘नेपाली कांग्रेस सहमत भए मधेसलाई विश्वासमा लिएर सहमतिको सरकार निर्माण गर्नु पर्छ । न्यूनतम साझा कार्यक्रम बनाएर जसको नेतृत्वमा सहमति जुट्छ, उसकै नेतृत्वमा सरकार बनाउनु पर्छ ।’

कार्कीले नेकपा एमालेले माओवादीसँग भएको भद्र सहमति कार्यान्वयन गर्ने बेला आएको भन्दै आफ्नो पार्टीले अहिले नै सरकारको विकल्प खोज्ने विषयमा हतार भने नगर्ने स्पष्ट पारे ।

सद्भावना पार्टीका महासचिव मनिष सुमनले केपी शर्मा ओली नेतृत्वको सरकारबाट मुलुकलाई उन्मुक्ति दिलाउन तयार हुने जो सुकैलाई पनि मधेसी मोर्चा निसर्त समर्थन गर्न तयार रहेको स्पष्ट पारे ।

उनले भने, ‘सैद्धान्तिक रुपमा सरकार हाम्रो एजेण्डा होईन र यो खेलमा हाम्रो चासो पनि छैन तर भावनात्मक रुपमा हाम्रा ६२ जना भन्दा बढीलाई गोली ठोकेर हत्या गर्ने, झुठा मुद्दा लगाउने, उपचार समेत नगराउने, बार्ताको नाटक गरिरहने, भ्रष्टाचारमा चुर्लुम्म डुब्ने र संघीयता विरोधी अभिब्यक्ति दिने प्रधानमन्त्रीबाट मुलुकलाई उन्मुक्ति दिन एक धक्का कसैलाई पनि समर्थन गर्न हामी तयार छौं ।’