
पेरिस, असार २७ । आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा गएराति भएको फाईनल खेलमा घरेलु टोलीलाई अतिरिक्त समयमा १–० ले हराँउदै पोर्चुगलले उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफमै पोर्चुगलका क्रिश्चियानो रोनल्डो घाईते भई मैदान छोडेपछि टोली दबाबमा आएको थियो । तर पनि घरेलु मैदान र समर्थकको दबाब झेल्दै पोर्चुगलले निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा पुर्यायो ।
यसपछि थपिएको ३० मिनेटमा पोर्चुगलले एक गोल गर्यो । अतिरिक्त समयको १९ औं मिनेटमा पोर्चुगलका लागि सब्सटिच्युट खेलाडी ईडरले एक गोल गरे । बाँकी समयमा फ्रान्सका खेलाडीहरुले केही अवसर सिर्जना गरे पनि गोलमा बदल्न नसक्दा खेल पोर्चुगलले १–० ले जित्यो ।
यो जितसँगै पोर्चुगलले पहिलो पटक कुनै पनि मेजर फुटबल प्रतियोगिताको उपाधि सुरक्षित गरेको छ । यसअघि सन् २००४ मा आफ्नै राष्ट्रमा भएको युरोकप फुटबलको फाईनलमा ग्रिससँग हारेको पोर्चुगलले यसपटक त्यो गल्ति दोहोर्याएन ।
गएरातिको जितसँगै पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले अपराजित यात्रालाई निरन्तरता दिएका छन् । सान्तोसको नेतृत्वमा पोर्चुगलले एउटा पनि खेल हारेको छैन ।
उता फ्रान्सले भने तेस्रो पटक युरोकपको उपाधि जित्ने अवसर खेर फालेको छ । यसअघि सन् १९८४ र २००० मा युरोकप जितेको फ्रान्सले १९९८ को विश्वकप फुटबल पनि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्