
काठमाडौं, असार २७ । नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुरुप समाजमा प्रहरी मेरो साथी हो भन्ने भावना र प्रहरीसँगको सम्वन्ध सुदृढ पार्ने लक्ष्यसहित आज देशैभर प्रहरी मेरो साथी कार्यक्रमको शुभारम्भ गरिएको छ ।
नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलापहरुलाई प्रहरी मेरो साथीको एउटै अवधारणामा आवद्ध गर्ने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रमले देशैभरका प्रहरीको सञ्जाल निर्माण गर्दै प्रहरी सेवालाई नागरिक मैत्री बनाईने भएको हो ।
यस अभियानको काठमाडौंमा सुरुवात गर्दै गृहमन्त्री शक्ति वस्नेतले समग्र सुरक्षा व्यवस्थालाई पहिलेभन्दा गुणात्मक रुपले सुदृढ बनाउन सफलता मिल्ने विश्वास व्यक्त गरे ।
उनले जनतासँगको सहकार्यबाट सञ्चालित प्रहरी मेरो साथी अभियानले नागरिकप्रति उत्तरदायी बन्न अझ सघाउने बताए ।
प्रहरी मेरो साथी कार्यक्रमलाई नेपाल प्रहरी र समुदायमा संस्थागत विकास गर्दै अपराध, दुर्घटना, सामाजीक विकृतिको नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न प्रहरी कटिवद्ध रहने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्