५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


नेपाल–भारतले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने


0
Shares

रमेश लम्साल (रासस)

काठमाडौं, असार २७ । नेपाल र भारतले संयुक्त रुपमा नयाँ बुटवल– गोखरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएका छन् ।

अन्तरदेशीय प्रसारण योजनाको अध्ययन प्रतिवेदनको निष्कर्षका आधारमा नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त बैठकमा दोस्रो अन्तरदेशीय प्रसारण लाइनकारुपमा अगाडि बढाउन सहमति भएको हो ।

कुल ४०० किलोभोल्ट क्षमताको सो प्रसारण लाइनको विस्तृत् आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने र निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ ।

नेपालले हाल ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् कुल ८० मेगावाट विद्युत् आयात् गरिरहेको छ ।

विद्युत् माग बढी भएका क्षेत्रलाई सहजरुपमा ऊर्जा उपलब्ध गराउने लक्ष्यकासाथ न्यू बुटवल गोरखपुर प्रसारण लाइनलाई प्राथमिकतामा राखिएको हो ।

ऊर्जा मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेशकुमार घिमिरेले उक्त प्रसारण लाइनको डीपीआर आगामी डिसेम्बरसम्म तयार हुने बताए ।

‘डीपीआर तयार भएपछिमात्र लागतबारे थाहा हुन्छ’–उनले भने ।

प्राधिकरणको बुटवलमा रहेको सवस्टेसनपूर्व रोहिणीखोलानजिक अर्को सवस्टेसन बनाउने र भारतबाट विद्युत् आयात् गर्ने सरकारको तयारी छ ।

बूढीगन्डकी र मर्स्याङ्दी करिडोरलगायतका स्थानमा उत्पादन भएको विद्युत् बढी हुँदा भारत निर्यात् गर्न सो प्रसारण लाइन सहज हुने विश्वासकासाथ दुबै मुलुकले उक्त परियोजनालाई प्राथमिकतामा राखेका हुन् ।

सन् २०२२ सम्म नेपालले भारतबाट कुल एक हजार मेगावाट विद्युत् आयात् गर्ने र सो अवधिपछि नेपालबाट करिब दुई हजार विद्युत् निर्यात् गर्ने लक्ष्य राखिएको छ ।

दुबै मुलुकले आ–आफ्नोतर्फको प्रसारण लाइन निर्माण गर्ने ऊर्जा सचिवस्तरीय संयुक्त बैठकमा सहमति भएको प्रवक्ता घिमिरेले बताए ।

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा कुनै समस्या आए मुलुकभित्रको ऊर्जा वितरण प्रणालीलाई यथावत् राख्न वैकल्पिक प्रसारण लाइन सहयोगी हुने भएका कारण सो प्रसारण लाइन अघि बढाउन लागिएको हो ।

विद्युत्को मुख्य माग हुने भैरहवा, बुटवल, नारायणगढ, पोखरा, दाङलगायतका सहरसमेत उक्त प्रसारण लाइनको नजिक पर्ने भएकाले ऊर्जा मन्त्रालयले प्राथमिकतामा राखेको हो ।

सरकारले प्रस्ताव गरेको प्रसारण लाइन गुरुयोजनामासमेत अन्तरदेशीय प्रसारण लाइनको निर्माण, आन्तरिक प्रसारण लाइनको विकास तथा विस्तारलाई विशेष जोड दिएको छ ।

हाल दुई देशबीच विभिन्न ११ स्थानमा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

यही असार १३ र १४ गते भारतमा सम्पन्न संयुक्त बैठकलेसमेत प्रसारण लाइन निर्माणको विषयमा महत्वपूर्ण निर्णय गरेको सन्दर्भमा न्यू बुटवल गोरखपुर प्रसारण लाइन निर्माणले गति लिने विश्वास गरिएको छ ।

बैठकले प्राविधिक समिति तथा अन्य संयन्त्रहरुलाई थप क्रियाशील बनाउने र यस क्षेत्रमा भएको द्विपक्षीय सहयोगलाई गति दिने निर्णय गरेको छ ।

यस्तै कुशाहा–कटैया, रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रक्रियालाई चाँडो सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ती दुबै प्रसारण लाइनबाट थप ५०/५० मेगावट विद्युत् आयात गर्ने लक्ष्य राखिएको छ ।

मुलुकमा जारी ऊर्जासंकटलाई हल गर्न तत्काल भारतबाट आवश्यक मात्रामा विद्युत् आयात् गरिनेछ ।

हाल ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात् भइरहेको ८० मेगावाट विद्युत् आयातलाई निरन्तरता दिने र आगामी डिसेम्बरसम्म ढल्केबरमा सवस्टेसन निर्माण सम्पन्न गरी थप विद्युत् आयात् गरिनेछ भने प्रसारण लाइनको क्षमताअनुसार नै आयात् गर्ने सहमति जुटेको छ ।

भारत सरकारको अनुदानमा निर्माणाधीन कुशाहा–कटैया एवं रक्सौल परवानीपुर १३२ केभी प्रसारण लाइनबाट पूर्णक्षमतामा विद्युत् ल्याउन डिसेम्बरसम्म हरसम्भव प्रयास गर्ने मन्त्रालयको तयारी छ ।

मुलुकभित्र उत्पादन हुने विद्युत् आन्तरिक खपतबाट बढी भएको अवस्थामा निकासी गर्नेतर्फ पनि विशेष जोड दिइएको छ ।

प्रवक्ता घिमिरेले सबै उपाय अवलम्बन गरेर ऊर्जासंकट समाधान गर्ने लक्ष्य राखिएको बताए । रासस