१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


पदभार ग्रहण गर्दै प्रधानन्यायाधीशले भनिन्–‘बालकृष्ण ढुंगेललाई न्यायाधीशले थुन्ने होइन’


0
Shares

काठमाडौं, असार २७ । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथलगत्तै सोमबार पदभार ग्रहण गरेकी छन् ।

सर्वोच्च अदालतमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा संविधान र कानुनको अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

संविधानसँग बाझिएका कानुन संशोधन गर्न आदेश जारी गर्ने काम यसअघि पनि गर्दै आएको बताउँदै उनले ‘आफ्नो प्राथमिकता संविधान कार्यान्वयन हो’–भनिन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीले भनिन्–‘आफ्नो कार्यकालको ठूलो चुनौती प्रदेशअनुसार उच्च अदालतको निर्माण गर्नु हो । १६ पुनरावेदन अदालतका मुख्य न्यायाधीशलाई कसरी मिलाउने भन्ने समस्या छ ।’

उनले धनी र हुनेखाने वर्गका लागिमात्र नभएर सीमान्तकृत र पछाडि परेका निमुखा जनतासम्म न्याय पुर्‍याउन न्यायमा पहुँच आयोग गठन गरेको उल्लेख गरिन् ।

प्रधानन्यायाधीश कार्कीले सबैमा सहज र सरलरुपमा न्याय सेवा पुर्‍याउन बाहिरका जिल्लाबाट पनि तारिख लिनसक्ने व्यवस्था मिलाएको र द्रुत र निरन्तर सुनुवाइका लागिसमेत पहलकदमी लिने बताइन् ।

आगामी दिनमा फैसला कार्यान्वयनमा बढी जोड दिने पनि उनले बताइन् ।

फैसला कार्यान्वयनकै सन्दर्भमा प्रधानन्यायाधीश कार्कीले भनिन्–‘तपाइँले माओवादीका बालकृष्ण ढुंगेलको कुरा गर्नुहुन्छ होला । उहाँलाई न्यायाधीशले थुन्ने होइन, पुलिसले थुन्दैन ।’

आगामी दिनमा कागजविहीन अदालत बनाउने तयारी भइरहेको हुनाले त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयन लैजाने र अदालतमा तिर्नुपर्ने रकम पनि बैंकमार्फत् तिर्ने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी उनले दिइन् ।

उनी ११ महिना पदमा रहनेछन् । रासस