१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


तमोर नदीको त्रास उस्तै, ताल खुलाउन समस्या (भिडियो हेर्नुहोस)


0
Shares

रविन भट्टराई, ईमेज

ताप्लेजुङ, असार २८ । ताप्लेजुङको सावादिन गाविसमा शनिवार राति झरेको पहिरोले तमोर नदी थुनिएर बनेको ताल पूर्णरुपले नखुल्दा तटीय क्षेत्रको बस्तीमा अझै जोखिम कायम छ ।

नदी थुनिएपछि स्थानीयवासी त्रासमा छन् भने स्थानीय प्रशासनचाहिं प्राकृतिक रुपमै नदीले निकास पहिल्याउने आशामा रहेको छ ।

गत शनिवार राति झरेको पहिरोले तमोर नदी थुनिएर तालमा परीणत हुँदै धार परिवर्तन गरेर बग्न थाले पनि पुर्ण रुपमा थुनिएको भाग नखुल्दा तल्लो क्षेत्रका स्थानीय अझै त्रसित रहेका छन् ।

थुनिएको भाग भन्दा माथिल्लो क्षेत्रबाट बाढी आएर नदी एक्कासी खुले तल्लो क्षेत्रमा रहेका हान्द्रुङ र दोभान बजार सहित थुम्बाबेसीको बस्तीलाई असर पार्ने भएकाले स्थानीय त्रसित बनेका हुन् ।

सावादिन गाविसको नाक्ला भीरबाट झरेको पहिरोले शनिबार राति दुई बजे तमोर नदी थुनेको थियो । नदी थुनिएर करीब ६ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बनेको छ । नदी फुरुम्बुतर्फको भागबाट जमीन कटान गर्दै बगिरहेको छ ।

नाक्ला भीरबाट पहिरोसँगै ठूला ठूला चट्टान झरेर शनिवार राति देखि नदी थुनिदा एक घर सहित केहि चौपाय र अन्न बालि बगाएको प्रहरीले जनाएको छ । नदी केहि घटेपनि ठुला चटानले नदी थुनेकाले थुनिएको भाग खोल्न नसकेको स्थानीयबासीको भनाई छ ।

नदीलाई चटानले छेकेको र सो स्थानमा जाने बाटो नहुँदा मानविय रुपमा हटाउन सक्ने अबस्था नभएकाले स्थानीयलाई सचेत रहन आग्रह गर्दै नदीको अबस्थाको बारे जानकारी लिनुबाहेक अन्य उपाय अहिले नभएको ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराई बताउँछन् ।

नदी थुनिएपछि खुलाउन सदरमुकामबाट घटनास्थल गएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खुलाउने संभावना नभएकाले घटना स्थलको अवलोकन गरी त्यसै फर्किएको थियो भने केहि प्रहरी घटनाको बारे सदरमुकाममा जानकारी दिन सोहि स्थानमा रहेका छन् ।

नदी विच भागमा नै थुनेको साथै अत्याधिक गतिमा बग्ने नदी भएको कारण कुनै पनि समय पुनः बाढी आएर थुनिएको भाग खुल्न सक्ने भएकाले तल्लो क्षेत्रका स्थानीय सचेत अवस्थामा रहन आवश्यक छ । सम्बन्धित निकायले खतरा मापन यन्त्र जडान गरी चाँडो नदी खुलाउने प्रयास गर्नु जरुरी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस