
काठमाडौं, असार २९ । छोराबुहारीले घरबाट जंगलमा लगेर छाडिदिएपछि दुई महिनादेखि ओडारमा बस्दै आएकी सुर्खेत, सालकोट–४ की ७२ वर्षीय बाटु अधिकारीको उद्धार गरिएको छ ।
‘आमाले फोहोर गरेको भन्दै पत्नीले दिनहुँ किचकिच गर्न थालेपछि ओडारमा लगेर छाडेको थिएँ,’ कान्छा छोरा चन्द्रबहादुरले भने । वैशाखको अन्तिम सातातिर बृद्धा बाटुलाई छोराबुहारीले जंगलमा छाडेका थिए ।
सालकोट गाविसका सचिव तिलक अधिकारीका अनुसार केही अघिसम्म बाटु थलिएर हिँडडुल गर्न सक्थिनन् । दिसाविसाव आङ मै गर्थिन् ।
पोखरीकाँडा–३ रतुराय जंगलमा अवस्थित ओडारमा उनी अधिकांश दिन भोकभोकै बसेकी थिइन् ।
कान्छी बुहारीले ‘पापी बुढी’ लाई घरमा राख्ने भए आफू नबस्ने भन्दै पति चन्द्रबहादुरलाई थर्काउँदै आएको गाउँलेले बताए । उनीहरुको घरदेखि ओडार करिब आधा घण्टाको दुरीमा पर्छ ।
उद्धारपछि बृद्धालाई उनकै जेठो छोरा कुलबहादुरसँग राखिएको छ । भाइबुहारीले हेलाँ गरे पनि आफूबाट त्यस्तो नहुने कुलबहादुरले प्रतिबद्धता जनाए ।
उद्धार गरेर ल्याएपछि उनलाई हेर्न गाउँलेको भीड लागेको थियो । आँसु झार्दै बाटुले ओडारमा पाएको कष्ट र छोराबुहारीले गरेको दुर्व्यवहारको फेहरिस्त सुनाइन् । उनको कष्ट सुनेपछि गाउँलेले चन्द्रबहादुरका दम्पतीलाई १५ मिनेट सार्वजनिक रुपमा कान समाएर उठबस गराए । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्