
उदयपुर, वैशाख १५ । उदयपुरमा नदी दोहन अत्यधिक बढेको छ । नदी दोहनका कारण चौदण्डीगढी नगरपालिकाका बासिन्दा सबैभन्दा बढी मारमा परेका छन् ।
चौदण्डीगढी नगरपालिकामा पर्ने द्वार, लामा, माडिबास, काली, ज्यामिरे खोला र त्रियुगा नदीमा मापदण्डविपरित नदीजन्य वस्तु उत्खनन् भइरहेको हो । नदीजन्य वस्तुको उत्खनन् तथा बेचबिखनका लागि नगरपालिकाबाट ठेक्का लिएको ठेकेदार पक्षबाट मापदण्ड विपरित उत्खनन् भएको हो ।
प्रारम्भिक वातावरणीय परीक्षणको (आईईइ) प्रतिवेदनले यी खोला नदीबाट कुटो, कोदालो, सावेल, डोकोजस्ता औजारले नदीजन्य पदार्थ संकलन गर्ने भनिए पनि हेभी इक्युपमेन्ट ‘स्काभेटर’बाट उत्खनन् गरिएको स्थानीयले बताएका छन् ।
नगरपालिकाले ढुंगा १९ हजार घनमिटर, गिटी ५५ हजार घटमिटर, बालुवा २३ हजार घनमिटर उत्खनन् गर्न पाउने गरी २०७५ साल असोज ९ गते ठेक्काको सूचना प्रकाशित गरेको थियो । तर तोकिएको भन्दा तेब्बर बढी परिमाणमा नदीजन्य वस्तु उत्खनन् भएको बताइएको छ ।
न्यूनतम् २४ सेन्टिमिटरदेखि अधिकतम् ९० सेन्टिमिटरसम्म गहिराइ गरेर उत्खनन् गर्न सकिने आईईई प्रतिवेदनमा लेखिए पनि १ मिटरदेखि ३ मिटरसम्म गहिराइबाट उत्खनन् गर्दा पनि स्थानीय तह मौन रहेको छ । प्रत्येक वर्ष नदी दोहनका कारण पानीका मुहान सुक्ने, भूक्षय र वनजंगलमा पहिरो जाने समस्या बढेको छ । यसका कारण पहाडि क्षेत्र चौदण्डी र सिद्दिपरका बासिन्दा बसाइ सर्न बाध्य छन् ।
प्रतिक्रिया दिनुहोस्