
काठमाडौं, असार २९ । व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तरल अवस्थामा पुगेको राजनीतिक अवस्थाका कारण संसद बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको हो ।
संसद्को बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि सभामुख ओनसरी घर्तीले सूचना टाँस गरेर बैठक स्थगित गरेकी हुन् । संसद आज सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पास गर्ने कार्यतालिका छ ।
संसद्ले गत शनिबार विनियोजित विधेयक पारित गरिसकेको छ भने आज बजेटसँग सम्बन्धित थप तीन वटा विधेयक पारित गर्ने छ ।
बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयकमाथि सामान्य छलफलपछि पारित गर्ने तयारी संसद्ले गरेको छ ।
तर सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएमा संसद्को कार्यसूचीमा फेरबदल हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्