अनिलाको गीतमा सैलुङ र बेलायतको दृश्य ‘भर्जिन स्पट’ « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


अनिलाको गीतमा सैलुङ र बेलायतको दृश्य ‘भर्जिन स्पट’


0
Shares

काठमाडौं, असार २९ । गायिका अनिला राई दर्शक तथा स्रोतामाझ बादलसँगै उडेर आएकी छन् । एक दशकदेखि बेलायतमै बसेर नेपाली गीतसंगीतलाई निरुन्तर अँगाल्दै आएकी अनिलाले आफ्ना श्रोता एवं दर्शकका लागि ‘बादलसँगै…’ बोल गीतको नविनतम भिडियो पस्केकी हुन् ।

‘बादलसँगै…’ भिडियोलाई मंगलबार एक भव्य समारोहबीच सार्वजनिक गरिएको हो । रातोपुलस्थित रक हाउस क्याफेमा आयोजित समारोहमा ‘बादलसँगै…’ गीतको भिडियोलाई अहिलेका चर्चित गायक राजेशपायल राई, दीपक लिम्बू, संगीतकार तथा प्राज्ञ शान्तिराम राईलगायतले सार्वजनिक गरेका थिए ।

गायिका अनिलाको ‘स्वरांकन’ एल्बममा समावेश यस गीतलाई फोटो पत्रकार नविनबाबु गुरुङले निर्देशन गरेका हुन् । छायांकन समेत नविनबाबुकै रहेको यस भिडियोलाई यु–ट्युब र टेलिभिजनमार्फत एकसाथ सार्वजनिक गरिएको हो

अनिलाको ‘स्वरांकन’ एल्बम केही समयअघि मात्र सार्वजनिक गरिएको थियो । दोलखाको सैलुङ डाँडा, काठमाडौं र बेलायतमा समेत छायांकन गरिएको ‘बादलसँगैं…’ भिडियोमा सम्पदा बानियाँ र नरेन खड्काले अभिनय गरेका छन् । सैलुङ डाँडा र बेलायतको रमणीय दृश्यले भिडियोलाई थप उत्कृष्ट बनाएको छ ।

कार्यक्रममा बोल्दै संगीतकार शान्तिराम राई भिडियो एकदमै उत्कृष्ट बनेको बताए । उनले भने, ‘बादलसँगै गीतको उत्कृष्टता जस्तै भिडियो पनि राम्रो बनेको छ ।’

सैलुङ डाँडा यस भिडियोका लागि भर्जिन स्पट भएको बताउँदै उनले भने, ‘गीतका मोडल सम्पदा र नरेनको अभिनय पनि उत्कृष्ट लाग्यो ।’ गायिका अनिलाकै शब्दरचना रहेको ‘बादलसँगै…’ गीतको संगीत पनि शान्तिरामले नै गरेका हुन् ।
त्यस्तै, गायक राजेशपायल राईले पनि भिडियो उत्कृष्ट लागेको बताए । ‘भिडियो साँच्चीकै राम्रो बनेको छ’ उनले भने, ‘यस गीतले अनिलालाई थप चर्चामा ल्याउने छ भन्ने मलाई लागेको छ ।’

कार्यक्रममा भिडियोका निर्देशक तथा फोटोपत्रकार नविनबाबुले ‘बादलसँगै…’ छायांकन ताकाको अनुभव सुनाएका थिए । ‘यो भिडियो निकै कठिनका साथ निर्माण गरेका छौं’ उनले भने, ‘तर मिहिनेत गरेअनुसार भिडियो राम्रो बनेको छ ।’ मोडल सम्पदाले पनि भिडियो सुटका क्रममा सैलुङ डाँडा पुग्दा अनुभव सुनाएकी थिइन् ।

सञ्चारकर्मी निर्मल दाहाले सञ्चानल गरेको कार्यक्रममा गायक दीपक लिम्बु, रुकमान लिम्बूलगायतले अनिलाको गायन र भिडियोबारे चर्चा गरेका थिए । यस गीतको अडियो रुबुशा क्रियटिभ वर्कस्ले ल्याएका हो भने यु–ट्युबमा ‘स्ट्रिट नेपाल’ ले सार्वजनिक गरेको हो ।