
काठमाडौं, असार ३० । नौं महिना सरकारमा रहेर पार्टीको निर्देशानुसार मन्त्री पद छाड्नुपरेपछि पुल्चोकस्थित मन्त्री निवासमा बस्दै आएका माओवादी केन्द्रका मन्त्रीका सहयोगी बुधबार दिनभर ठूलै चटारोमा देखिन्थे ।
मन्त्री निवासबाट सामान सार्नुपर्ने भएपछि कोही पोकापुन्तरा बनाउँंदै थिए भने कोही गाडीमा धमाधम सामान सार्दै थिए ।
पार्टीले फिर्ता बोलाएसँंगै मन्त्री पदबाट राजीनामा दिएका माओवादीका कोही मन्त्रीले डेरा सरिसकेका छन् भने धेरै सर्ने तयारीमा छन् । माओवादी केन्द्रबाट असोज २४ मा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा एक उपप्रधानमन्त्री र सातजना मन्त्री सहभागी भएका थिए ।
गृहमन्त्री शक्ति बस्नेत र वाणिज्यमन्त्री गणेशमान पुन त मंगलबार नै मन्त्रालयमा सबैलाई धन्यवाद दिएर बिदाइ भएका थिए । बस्नेतले बुधबार बिहानै पुल्चोकस्थित मन्त्री निवासबाट पोकापुन्तरा बाँधेर भैंसेपाटीमा डेरा सरेका छन् । वनमन्त्री अग्निप्रसार सापकोटाले बुधबार मन्त्री निवास छाडेपछि कौशलटारस्थित भतिजाको डेरामा बस्न पुगेका छन् ।
सापकोटाले मन्त्री भएबापत सुविधामा पाएको गाडीसमेत फिर्ता गरिसकेका छन् ।
कृषिमन्त्री हरिबोल गजुरेलले भने बिहीबारमात्रै पुल्चोक निवास छाड्ने तयारीमा छन् । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले पनि बिहीबार मात्रै पुल्चोक निवास छाड्ने तयारीमा छन् ।
सामान्य प्रशासनमन्त्री रेखा शर्मा बुधबार साँझ मन्त्रालयबाट बिदा भइन् । पुल्चोकमै बस्दै आएकी शर्मा बिहीबार डेरा सर्ने तयारीमा छिन् ।
सिंचाइमन्त्री उमेश यादवलाई भने तत्काल डेरा सर्न समस्या देखिएको छ । उनी पहिला बस्दै आएको कोटेश्वरस्थित घरका मालिकले घर बेचिदिएपछि नयाँ डेरा खोज्नुपर्ने अवस्था आएको उनका सहयोगी मातृका भट्टराईले जानकारी दिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्