
सिन्धुपाल्चोक असार ३० । सिन्धुपाल्चोकमा भोटेकोशी नदीको कटान अझै रोकिएको छैन । बाढी आएको एक सात बित्न लाग्दा समेत नदीले कटान गर्ने क्रम नरोकिएको हो ।
बाढीले तातोपानी र लिपीङ आसपासमा हालसम्म ७० घर बगाएको छ । बुधबारसम्म ६७ घर बगाएकोमा आज बिहान थप तीन घर नदीले बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए
भोटेकोशीमा बाढी आए पछि दैनिक रुपमा नै नदी छेउका घरहरु बगाइरहेको हो । भोटेकोशीले तातोपानी र लिपीङ क्षेत्रमा बढी घर बगाएको छ ।
नदीको वहाब नरोकिने हो भने नदी छेउका घर अब एउटा पनि बाँकी नरहने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोर्कणमणी दुवाडीले जानकारी दिए । नदीको वहाब नरोकिदा अस्थाई रुपमा भएपनि नदी नियन्त्रण गर्न समस्या भएको छ
भोटेकोशीको बाढी पछि बाह्रविसे माथिका सात गाविसका स्थानीय सडक, सञ्चार र विद्युत सेवाबाट बञ्चित भएका छन् । सडक सञ्चालन नुहंदा यस क्षेत्रका स्थानीय बिरामी हुदा ठुलो समस्या भएको छ ।
बर्षाको सुरुवात भएदेखि नै लार्चादेखि लिपिसम्मका पहिरोले गर्दा सबै बस्ती पूर्णरुपमा जोखिममा छन् । लगातार जमिन कटान नरोकिनाले बजार मात्र नभइ अरनिको राजमार्गमा थप क्षति पुगेको छ ।
पर्यटकीय सम्पदाहरु तातोपानी, निर्माणाधीन चिनियाँ भन्सार भवनलगायतका प्रशस्तै संरचनाहरुमा अधिकांश भाग काटिसकेको छ । नदीले बगाएर ल्याएको ठूला ढुंगाहरु दशकिलो नजिकमा रहेको ड्याममा थुनिएर बाढी आउने जोखिम बढेको छ ।
४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको ड्यामले गर्दा नदीले घरहरु कटान गरेको स्थानीले बताएपछि आवश्यक परेमा नेपाली सेनासँग समन्वय गरेर ड्याम फुटाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दुवाडीले जानकारी दिए ।
विशेषज्ञसँग समन्वय गरेर आवश्य परेमा भोटेकोशीको ड्याम विष्पोट गराउने सम्मको छलफल भएको प्रमुख जिल्ला अधिकारी दुवाडीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्