Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


६ ओटा हिमताल जोखिमपूर्ण अवस्थामा


0
Shares

काठमाडौं, असार ३० । व्यवस्थापिका–संसद वातावरण संरक्षण समितिको विहीबार बसेको बैठकमा हिमताल विस्फोट तथा जोखिम न्यूनीकरणका सम्बन्धमा सम्बन्धित निकायका पदाधिकारीसँग छलफल भएको छ ।

बैठकमा छोरोल्पा र इम्जालगायत ६ ओटा हिमताल जोखिमपूर्ण अवस्थामा रहेको समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजनाका प्रमुख टोपबहादुर खत्रीले जानकारी दिए ।

छोरोल्पाबाट सोलुखुम्बुका चौंरीखर्क, खुमजुङ्, नाम्चेलगायत क्षेत्र र तराईका महोत्तरी, सप्तरी, सिराहा र उदयपुर क्षेत्रमा पर्नसक्ने प्रभावलाई न्यून गर्न पूर्वसूचना संयन्त्र जडान गर्नुका साथै प्रभावित क्षेत्रका जनतामा समुदायमा आधारित कार्यक्रम सन्चालन गरिएको र आयोजना सकिएपछि सम्बन्धित समुदायबाटै कार्यक्रम सन्चालन हुने व्यवस्था मिलाइएको उनले बताए ।

छलफलमा सांसदहरू गणेश बिमली, डा. दुमनसिंह थापा, कमला विक, हरिप्रसाद उप्रेती, हरि राजवंशी, राजाराम स्याङ्तान, मानबहादुर विश्वकर्मालगायतले जलवायु परिवर्तनबाट सिर्जना हुने जोखिम न्यून गर्न जल संरक्षणमा ध्यान दिनुपर्ने, नदी आसपासका बाँस, जटाधारी रूखलगायत बिरुवा रोपी स्थानीय बासिन्दामाझ आय–आर्जन तथा रोजगारमूलक कार्यक्रम सन्चालन गर्नुपर्ने, थप जोखिमी क्षेत्र पहिल्याउनुपर्ने सुझाव दिएका थिए ।

जल तथा मौसम विज्ञान विभागका निमित्त महानिर्देशक सुरज वैद्यले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएका थिए । रासस