१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


भोटेकोसीको वितन्डा अझै रोकिएन, यस्तो छ अवस्था, जोखिम बढ्यो (भिडियोसहित)


0
Shares

दिनेश थापा (इमेज)
सिन्धुपाल्चोक, असार ३० । भोटेकोसी नदीको कटान नरोकिँदा सिन्धुपाल्चोकको बाह्रबिसे र तातोपानी आसपासका बस्ती अझै जोखिममा परेका छन् ।

बाढी आएको एक साता बित्न लाग्दासमेत नदीले कटान गर्नेक्रम नरोकिएको हो ।

भोटेकोसीमा आएको बाढीले हालसम्म सिन्धुपाल्चोकको तातोपानी र लिपिङ आसपासमा ७० घर बगाएको छ ।

बुधबारसम्म ६७ घर बगाएकोमा बिहीबार बिहान थप तीन घर नदीले बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए ।

तिब्बतमा हिमताल फुटेर भोटेकोसीमा बाढी आएपछि दैनिकरुपमा नै नदी छेउका घरहरु बगाइरहेको छ । भोटेकोसीले तातोपानी र लिपिङ क्षेत्रमा बढी घर बगाएको हो ।

नदीको वहाब नरोकिए नदी आसपासका अधिकांश घरमा क्षति पुग्ने सम्भावना देखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जानकारी दिए ।

भोटेकोसीको बाढीले ठूलो क्षति पुर्‍याएपछि बाह्रबिसेमाथिका सात गाविसका स्थानीय सडक, सन्चार र विद्युत् सेवाबाट वन्चित भएका छन् । सडक सन्चालनमा ल्याउन नसक्दा यहाँका बासिन्दालाई ठूलो समस्या भएको छ ।

वर्षाको सुरुआत भएदेखि नै लार्चादेखि लिपिङसम्म विभिन्न क्षेत्रमा गएको पहिरोले सबै बस्ती जोखिममा छन् ।

लगातार जमिन कटान नरोकिनाले बजारमात्र नभइ अरनिको राजमार्गमा थप क्षति पुगेको छ ।

पर्यटकीय सम्पदा, तातोपानी, निर्माणाधीन चिनियाँ भन्सार भवनलगायतका संरचनामासमेत ठूलो क्षति भइसकेको छ ।

नदीले बगाएर ल्याएका ठूला ढुंगा १० किलोनजिकमा रहेको ड्याममा थुनिएर बाढी आउने जोखिम बढेको छ । (विस्ततृ भिडियोमा हेर्नुहोस्) ।