१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


यो हो मदन भण्डारीको पुख्र्यौली घर, जीर्ण हुँदै ढल्ने अवस्थामा पुग्यो


0
Shares

सन्तोष पुर्कुटी (रासस) 

ताप्लेजुङ, असार ३० । नेपाली कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता मदन भण्डारीका नाममा थुप्रै संघ–संस्था खुलेका छन् ।

भण्डारीकै नाम जोडेर खोलिएका विभिन्न संघ–संस्थाले क्रियाशील रहँदै नाम र चर्चा पनि कमाएका छन् ।

नेता भण्डारीकै राजनीतिक सिद्धान्तलाई पछ्याएको पार्टी नेकपा एमाले वर्तमान सरकारको नेतृत्वकर्ता पनि हो ।

यति मात्रै होइन, स्व. नेता भण्डारीकै धर्मपत्नी विद्यादेवी भण्डारी वर्तमान राष्ट्रपति हुन् ।

तर, तिनै स्व. नेता भण्डारीको जन्मघर एवं त्यही घरसँग नाता गाँसेकी विद्यादेवी भण्डारीको पुख्र्यौली घर ताप्लेजुङको ढुंगेसाँघुमा कम्तीमा पनि ओत लाग्ने छानोको अभाव देखिएको छ ।

दुईतले खरले छाएको तर खर मक्किएर प्वालैप्वाल अनि भित्ता लिपिएको माटो उप्किएर भत्किन थालेको, हेर्दा थोत्रो देखिने घरमा कुनैबेला पार्टीको सभा, गोष्ठी हुँदा नेता–कार्यकर्ताको खचाखच हुन्थ्यो ।

तर, अहिले त्यही घरमा मान्छे बस्नु त के छानो ओढाइदिने कोही नहुँदा दिनानुदिन जीर्ण हुँदै ढल्ने अवस्थामा पुगेको छ । अहिले घरका भित्ता उप्किएर गारो भत्कन थालेको छ भने छानो मक्किएर झर्ने अवस्थामा पुगेको छ ।

लिपपोतको अभावमा सो घरको भित्ता उप्किएर गारोसमेत भत्कन सुरु भएको छ भने छानो मक्किएर धुजाधुजा हुँदा बर्सातको समयमा पानी चुहिएर हिलाम्मे हुने गरेको छ । सोही घरमा नै मदन भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो ।

वि.सं. २०१५ मा गाउँमै एउटा हिउँदे पाठशाला (जुन बर्खायाममा बन्द हुन्थ्यो)बाट नै औपचारिक शिक्षातर्फ भण्डारीले प्रवेश गरेका थिए ।

जन्मिएको १५ वर्षसम्म सो गाउँमा नै भण्डारीको जीवन बितेको थियो भने त्यसपछि २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरीमा बसाइँ सर्‍यो ।

भण्डारी परिवारको बसाइँसराइपछि घरसहितको जग्गा स्थानीयबासीले किनेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समयमा सम्पूर्ण जग्गामध्ये घरसहितको केही भाग मदन भण्डारी स्मृति प्रतिष्ठानको नाममा रहेको एमाले ताप्लेजुङका नेता–कार्यकर्ताले बताएका छन् ।

सो क्षेत्रलाई नमुना क्षेत्रकारुपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी मदन भण्डारी स्मृति प्रतिष्ठानले घरजग्गा लिएको एमाले ताप्लेजुङका सन्तोष चाम्लिङ राईले बताए ।

अनेरास्ववियु ताप्लेजुङकाअनुसार अहिलेसम्म आश्वासनबाहेक अरू केही काम हुन सकेको छैन ।

‘न त मर्मत नै भयो न घरको अवस्थाकाबारेमा कसैलाई चासो नै छ, अब कसले गर्ला यस घरको मर्मत र सम्भार ?’

एमालेनिकट सो विद्यार्थी संगठनले सो ठाउँमा पुगेर यस्तै प्रश्न गर्दै चासो बढाएको छ ।

विभिन्न समयमा जननेता भण्डारीको पुख्र्यौली घर भनेर ठूलै चर्चा चल्ने गरेपनि मर्मत–सम्भारका लागि कसैले वास्ता नगरेपछि बुधबार अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङ र सोही विद्यार्थी संगठनकै पाथीभरा बहुमुखी क्याम्पस एकाइ कमिटीको संयुक्त टोली सो घरमा पुगेर सरसफाइ गरेको थियो । चुहिँदै गरेको छानोमा त्रिपालसमेत ओढाउने काम भयो ।

‘नेता भण्डारीको घरलाई महत्वकासाथ हेरिने गरिएपनि कसैले मर्मत–सम्भारमा ध्यान नदिएपछि हामी पुगेर सरसफाइ गर्नुकासाथै त्रिपाल ओढाउनेसम्मको काम गर्‍यौं’–संगठनका जिल्ला उपसचिव राजु नेपालीले भने ।

नेता भण्डारीको जन्मस्थल र घरलाई आन्तरिक वा बाह्य पर्यटकका लागिसमेत घुम्न योग्य ठाउँकोरुपमा प्रवद्र्धन गरिनुपर्ने स्थानीयबासीको भनाइ छ ।