
काठमाडौं, असार ३० । एसियाली विकास बैंक (एडीबी)ले कमजोर आयोजना व्यवस्थापन क्षमता, ढिलो ठेक्का सम्झौता र निकासामा ढिलाइ आयोजना कार्यान्वयनको मुख्य चुनौती रहेको जनाएको छ ।
खरिदमा उच्चजोखिम, अन्तरएजेन्सी समन्वयमा कमजोरीलगायतका कारणले सहयोग कार्यान्वयनमा आउन नसकेको एडीबीको ठहर छ ।
विहीबार काठमाडौंमा सन्पन्न त्रिपक्षीय लगानी समीक्षाकाक्रममा १ अर्ब ७२ करोड डलर अनुदान तथा ऋण सहयोगको आयोजनामध्ये ५७ प्रतिशत ठेक्का सम्झौता हुन नसकेको र ७४ प्रतिशत निकासा हुन बाँकी रहेको एडीबीले जनाएको हो ।
एडीबीका नेपाल देशिय निर्देशक किनिची ओकोयामाले आयोजना कार्यान्वयनमा अति सुस्तता आएको बताए ।
एडीबीको सबैभन्दा धेरै पिउनेपानी तथा सहरी क्षेत्रसम्बन्धी आयोजनामा रहेको छ । त्यसपछि क्रमशः उर्जा, यातायात, भूकम्पपछिको पुनःनिर्माण, कृषि र शिक्षा क्षेत्रमा रहेको छ ।
एडीबीले हालकै उच्चगतिमा काम भए सन् २०१७ को अक्टुबरसम्म मेलम्ची खानेपानी आयोजना सन्पन्न हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्