५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


प्रवेशाज्ञा निःशुल्क गरिएपछि नेपालमा चिनियाँ पर्यटक बढे (भिडियो)


0
Shares

प्रतीक लामिछाने-
काठमाडौं, असार ३१ । वर्षेनि लाखौं विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । नेपाल आउने पर्यटकमध्ये चिनियाँहरु अग्रपंक्ति मै छन् ।

पछिल्लो समयमा नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्दै गएको छ । भूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकलाई भिषा शुल्क मिनाहा गरेपछि उनीहरु नेपाल भ्रमणप्रति बढी इच्छुक देखिएका हुन् ।

चिनियाँ पर्यटकहरुले विगतमा नेपाल आउने प्रक्रियालाई ‘झण्झटिलो’ मान्दै आएका थिए । तर, गतवर्ष बैशाखमा गएको भूकम्पपछि शिथिल बनेको पर्यटनलाई केही हदसम्म माथि उकास्नका लागि सरकारले चिनियाँ नागरिकलाई भिषा फ्रि गर्ने निर्णय गर्‍यो । गत पुसमा चिनियाँ नागरिकलाई भिषा शुल्क नलिने सहमति भएसँगै यसले पर्यटन क्षेत्रमा निक्कै सकारात्मक प्रभाव पारेको पर्यटन व्यवसायी बताउँछन् ।

सन् २०१५ मा १ लाख २३ हजार ८ सय ५ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरे पनि सन् २०१६ को शुरुको ६ महिनासम्म करिब ६० हजार चिनियाँले नेपाल भ्रमण गरिसकेका छन् । सरकारले सन् २०१६ मा नेपालमा साढे २ लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्यका साथ विभिन्न योजना अघि सारेर उनीहरुलाई नेपाल घुम्न प्रेरित गरिरहेको छ ।

यस्ता कार्यक्रममले यो वर्ष नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या बढ्ने सकारात्मक संकेतहरु देखिएको छ ।

अहिले नेपालको पर्यटकीय सिजन हो । चिनियाँ पर्यटकका हकमा भने सिजनले खासै फरक पार्दैन । तर, नेपाल–चीन सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानी नाका र आसपसको बाटो अबरुद्ध भएपछि भने ल्हासा हुँदै स्थलमार्गबाट चिनियाँ पर्यटक नेपाल आउन सकेका छैनन् ।

नेपालको कला संस्कृति, धर्म, प्राकृतिक सुन्दरता, यहाँका हिमाललगायतले चिनियाँ पर्यटकलाई मोहनी लगाईदिएको छ । त्यसमा पनि नेपालको विमानस्थल टेक्ने बित्तिकै निःशुल्क भिषा पाइने व्यवस्थाले चिनियाँ पर्यटकलाई निक्कै फाइदा पुगेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने बताउँछन् ।

विगतमा नेपाल आउने पर्यटकलाई अवस्था हेरी १५, ३० र ९० दिन गरी विभिन्न ३ समूहमा भिषा दिने गरिएकोमा अहिले सरकारले नेपाल आउने बित्तिकै १५० दिनको भिषा अनुमति दिने गरेको छ ।

विश्वमा सबैभन्दा बढी भ्रमण गर्ने र बढी रकम खर्च गर्ने पर्यटकका रुपमा चिनियाँहरु चिनिन्छन् । तर भिषा फ्रि कै नाममा संख्यात्मक रुपमा मात्रै पर्यटक भित्र्याउने भन्दा पनि गुणस्तरीय पर्यटक नेपाल ल्याउने र सँगै उनीहरुको नेपाल बसाईको अवधि लम्ब्याउन सकिए अर्थपूर्ण हुने देखिन्छ ।