
काठमाडौं, असार ३१ । व्यवस्थापिका–संसदको बैठक स्थगित भएको छ ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख ओनसरी घर्तीले सूचना टाँस गरेर स्थगित गरेकी हुन् ।
अर्को बैठक आगामी साउन ६ गते ११ बजेका लागि बोलाइएको छ ।
त्यसदिन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यतालिका तय गरिएको छ ।
यसअघि, गत बुधबार पनि सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।
बुधबारको बैठकमा बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने कार्यतालिका थियो ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीको राजीनामा माग गरेपछि बुधबारको बैठक शुक्रबार (आज)का लागि सारिएको थियो ।
प्रतिक्रिया दिनुहोस्