
काठमाडौं, असार ३१ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध राखेको अविश्वासको प्रस्तावमाथि साउन ६ गतेबाट छलफल सुरु हुने भएको छ ।
सभामुख ओनसरी घर्तीले अविश्वास प्रस्तावमा छलफल गर्न साउन ६ गते बिहान ११ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।
सभामुख घर्तीले अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा अरु विषयमा छलफल नगर्ने विगतको प्रचलनअनुसार नै आफूले अविश्वास प्रस्तावमा छलफलका लागि मिति र समय तय गरेको शुक्रबार बताइन् ।
सभामुखको निर्णयलाई कांग्रेसले स्वविवेकको प्रयोग भनेको छ भने नेकपा एमालेले सभामुखको कदमले द्वन्द्व बढाउने टिप्पणी गरेको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकको मिति तोक्ने र कुन प्रस्तावमा छलफल गराउने भन्ने विषय सभामुखको स्वविवेकीय अधिकार भएको बताए ।
तर, नेकपा एमालेका मुख्य सचेतक भानुभक्त ढकालले भने बजेटलगायतका अरु विषयमाथि छलफल नगरेर अविश्वास प्रस्तावमाथि छलफल गराउने सभामुखको कदम उचित नभएको टिप्पणी गरे ।
यसअघि, शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख ओनसरी घर्तीले सूचना टाँस गरेर स्थगित गरेकी थिइन् ।
बैठकमा बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने कार्यतालिका थियो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्