२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


खुल्लामञ्चमा महानगरले डोजर चलायो, पसलेहरुको भागाभाग


0
Shares

काठमाडौं । काठमाडौको खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर डोजर लगाएर भत्काइएको छ ।

खुलामञ्चमा अतिक्रमण गरेर सटर बनाइएपछि व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले आज उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना डोजर लगाएर भत्काएको हो ।

काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काएको हो ।

सटर भत्काउने क्रममा ठूलो संंख्यामा नेपाल प्रहरी र महानगर प्रहरी परिचालन गरिएको थियो ।

सटर भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुमा भागदौड मच्चिए पनि उनीहरुले कुनै अवरोध गरेनन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, महानगर प्रमुख विद्यासुन्दर शाक्य लगायत खुलामञ्च पुगेका थिए ।

केही समय अघि मात्र काठमाडौं महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएको थियो ।

महानगरपालिकाले २०७१ सालमा खुलामञ्चको उत्तरतर्फको केही क्षेत्रमा बसपार्क राख्न भाडामा दिएको थियो ।

तर खुलामञ्च अतिक्रमण गर्दै त्यहांभित्र ४० भन्दा बढी सटरहरुमा पसल सञ्चालन हुँदै आएपछि जनस्तरबाट यसको विरोध शुरु भएको थियो ।