३० असार २०८२, सोमबार | Mon Jul 14 2025


विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सिको आग्रह


0
Shares

बेइजिङ, वैशाख १४ ।  चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी हुन आग्रह गरेका छन् ।

उनले चीनको सो महत्वाकांक्षी आयोजनामा सहभागिताका लागि विश्वका अरु नेताहरुलाई पनि आग्रह गरेको जनाइएको छ । 

बेइजिङमा जारी बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले सो धारणा राखेका हुन् । उनले चीनको उक्त आयोजनामा थप देशहरुलाई आबद्ध हुन आग्रह गरेका हुन् ।

उक्त सम्मेलनमा युरोप, अफ्रिका, एसिया, ल्याटिन अमेरिकाका विभिन्न ३७ देशका राज्य तथा सरकार प्रमुखहरु उपस्थित छन् । उनीहरु शनिबार पनि बेइजिङ नै छन् ।

तीन दिने सो सम्मेलनको शनिबारको सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले भने, ‘हामीले संसारमा खुला अर्थतन्त्रको विकास गर्नुपर्छ र संरक्षणवादको विरोध गर्नुपर्छ ।’

सो अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इटालियन प्रधानमन्त्री गुसेप कान्ट, पाकिस्तानी प्रधानमन्त्री इमरान खान लगायतको सहभाागिता थियो ।

सम्मेलनमा राष्ट्रपति चिनफिङले चीन उक्त आयोजनामा बढी भन्दा बढी देशको सहभाागिता चाहेको र यसबाट विश्वका विभिन्न देश पनि लाभान्वित हुन् भन्ने चाहेको धारणा राखे ।

साझा चासो र सबैको आर्थिक विकास चीनले यस आयोजनाबाट चाहेको उनले बताए । त्यसैले धेरै भन्दा धेरै देश एवम् कम्पनीहरुको सहभागिता यसमा होस् भन्ने चाहना आफूहरुको रहेको उनको भनाइ थियो ।

कतिपय विश्वका देशहरुले चीनको यो आयोजना महत्वाकांक्षी रहेको र यसबाट चीनले संसारमा आफ्नो प्रभाव र व्यापार विस्तार गर्ने भित्री चाहना राखेको भनेर पनि आलोचना गर्ने गरेको बताइन्छ । 

उक्त सम्मेलनमा विश्वका विभिन्न ३७ देशका राष्ट्रपति र प्रधानमन्त्री छन् भने विश्वका १४० भन्दा बढी देशको सहभागिता रहेको छ ।

बिआरआइलाई चीनले केही वर्षयतादेखि ठूलो महत्व दिँदै आएको छ । चीनको राष्ट्रपतिमा सि चिनफिङ निर्वाचित भएपछि देखि नै यस आयोजनालाई उनले अरु आयोजनाभन्दा बढी महत्व दिएर अघि सारेका थिए ।

चीनले हरेक दुई वर्षमा यो सम्मेलन गर्दै आएको छ । यस पटकको सम्मेलनमा पनि बेइजिङमा यस बिआरआई आयोजनाको सम्भाव्यता, यसबाट चीन र अरु विश्वका देशहरुमा पर्ने प्रभाव र फाइदाका विषयमा छलफल जारी छन् । (रासस÷सिन्ह्वा)